गाउँमा सडक पुगेपछि भारतीय बजारको परनिर्भरता हट्यो,नेपाली उत्पादन सहजै गाउँमा पुग्न थाल्यो

Image

ऋतु ओझा,
बैतडीः गाउँमा सडक पुगेपछि बैतडीको महाकाली किनारका बस्तीहरुमा भारतीय बजारको परनिर्भरता हटेको छ । गाउँसम्म सडक पुगेपछि नेपाली उपभोज्ञ बस्तु सहजै पाइन थालेको स्थानीयहरुले बताएका छन् । सडकको पहुँच नहुदा महाकाली नदीमा डुंगाको जोखिमपूर्ण यात्रा गरेर भारतीय बजार धाउनुपर्ने बाध्यता रहने गरेको पञ्चेश्वर गाउँपालिका वडा नं २ का स्थानीय तिलक बहादुर चन्दले बताउनुभयो । अहिले गाउँगाउँमा सडक पुगेपछि उक्त बाध्यता हटेको उहाले सुनाउनुभयो ।
कुनैबेला भारतीय बजारको दबदबाका कारण नेपाली रुपैया समेत नचल्ने तल्लो स्वराडमा सडकको पहुँच पुगेपछि पछिल्लो समय भारतीय बजारबाट आयात गरिने सरसामानको मात्रा निकै घटेको हो । भारतीय बजार धाउने बाध्यता हटेपछि निकै सहज महसुस भएको शिवनाथ गाउँपालिका–५ का स्थानीय कालु सिंह साउँदले बताउनुभयो ।
बैतडीको तल्लो स्वराड क्षेत्रको मेलौली नगरपालिका तथा सिवनाथ गाउँपालिका र पञ्चेश्वर गाउँपालिकाका स्थानीयहरुलाई सडकको पहुँचले जनजिवन सहज बनेको हो ।
सडक, विद्युत र खानेपानीलाई प्राथमिकतामा राखेर काम गरिरहेको पञ्चेश्वर गाउँपालिका वडा नं ३ का वडा अध्यक्ष मिन बहादुर चन्दले बताउनुभयो । स्थानीय तह गठन भइसकेपछि गाउँपालिकाका ६ वटै वडामा करिब १ सय ५० किलोमिटर सडक निर्माण गरिएको उहाले बताउनुभयो ।
दुर्गम क्षेत्रको रुपमा परिभाषित गरिएका बैतडीका तल्लो स्वराड क्षेत्र पुर्वाधार निर्माणकाले सुगममा परिणत भइरहेका छन् । विद्युत विस्तार र सडक पुर्वाधारलाई स्थानीय तहले जोड दिएका छन् । राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको महाकाली करीडोर निर्माणाधीन अवस्थामा छ । यसैगरी प्रदेश गौरावको आयोजनाको रुपमा रहेको पाटन–पञ्चेश्वर सडक स्तरोन्नतीको काम अन्तिम चरणमा पुगेको छ ।

प्रतिक्रिया जनाउनुहाेस्