बैतडीमा लागु औषध खैरो हिरोईनसहित एक जना पक्राउ

Image

बैतडी: बैतडीमा लागु औषध खैरो हिरोईन सहित एक जना पक्राउ परेका छन् । जिल्लाको पाटन नगरपालिका वडा नं ६ को पाटन बजारबाट बुधबार दिउँसो साढे १२ बजेको समयमा लागु औषध खैरो हिरोइनसहित एक जना पक्राउ परेका हुन् ।

पक्राउ पर्नेमा पाटन नगरपालिका वडा नं ६ कडालीका २३ वर्षीय कपिल कठायत रहेका छन् । उनको साथबाट ३ ग्राम २२० मिलिग्राम खैरो हिरोइन बरामद गरिएको जिल्ला प्रहरी कार्यालय बैतडीका सूचना अधिकारी, प्रहरी निरीक्षक सुरज सिंहले जानकारी दिए ।

बजार क्षेत्रमा हिडिरहेका कठायतलाई संकाको आधारमा चेकजाँच गर्दा कम्मरमा लुकाइ राखिएको अवस्थामा सो परिमाणको लागु औषध सहित नियन्त्रणमा लिइएको प्रहरी निरीक्षक सिंहले बताए ।

यस परिमाणलाई सुदूरपश्चिमको पहाडी जिल्लामा उच्च मानिएको छ ।
यसैगरी मंगलबार मात्रै पाटन नगरपालिका वडा नं ४ का ३० वर्षीय हिमाल भट्टलाई पनि ६० मिलिग्राम लागु औषध खैरो हिरोइनसहित नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।

दुवैजनालाई सशस्त्र प्रहरी र इलाका प्रहरी कार्यालय पाटनको समन्वयमा नियन्त्रणमा लिएको हो । उनीहरुलाई इलाका प्रहरी कार्यालय पाटनमा ल्याइ थप अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।

प्रतिक्रिया जनाउनुहाेस्