बैतडी:बैतडीमा जीप दुर्घटना हुँदा एक जनाको त्यु भएको छ भने चारजना घाईते भएका छन् । जिल्लाको शिवनाथ गाउँपालिका वडा नं ५ को सुल्लेखानबाट मेलौली–२ सलेनातर्फ आइरहेको से १ ज ७३२ नम्बरको जीप मेलौली नगरपालिका–७ स्वाखानीमा बुधबार राती ११ बजे दुर्घटनामा परेको हो ।
दुर्घटनामा परी मेलौली नगरपालिका–२ की २३ वर्षीय तुलसि पाण्डेयको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता, प्रहरी निरीक्षक बल्देव बडूले जानकारी दिनुभयो । गम्भिर घाईते पाण्डेयको केशरपुर प्राथमिक स्वास्थ्य केन्द्रमा उपचारका क्रममा मृत्यु भएको उहाँले बताउनुभयो ।
सो दुर्घटनामा परि अन्य चार जना घाइते भएका छन् । मेलौली नगरपालिका–२ का ३४ वर्षिय हरि पाण्डेय, सोही ठाउँका २८ वर्षिय ओम पाण्डेय, ६५ वर्षिय डम्बरदत्त पाण्डेय र दशरथचन्द नगरपालिका–७ का ३२ वर्षिय जीप चालक जनक बडू घाईते भएका प्रहरी निरीक्षक बडूले जानकारी दिनुभयो ।
घाइतेहरुलाई थप उपचारका लागि डडेल्धुरा अस्पताल पठाइएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ । जीपमा पाँच जना मात्रै सवार थिए ।
जीप आफैँ अनियन्त्रीत भएर सडकबाट १० मिटर तल खसेको थियो । दुर्घटनाको कारण बारे थप अनुसन्धान भैरहेको प्रहरी निरीक्षक बडूले बताउनुभयो ।
उक्त जीपमा बुधबार सम्पन्न शिवनाथ धाममा लागेको जात्रमा हेरेर फर्किरहेका यात्रु रहेको प्रहरीले जनाएको छ ।





















