बैतडी: बैतडीमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने चारजना घाईते भएका छन् । जिल्लाको शिवनाथबाट मेलाली तर्फ आइरहेको से १ ज ७३२ नम्बरको जीप मेलौली नगरपालिका–७ स्वाखानीमा बुधबार राती ११ बजे दुर्घटनामा परेको हो ।
मेलाली नगरपालिका–२ की २३ वर्षीय तुलसि पाण्डेयको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता, प्रहरी निरीक्षक बल्देव बडूले जानकारी दिए । गम्भिर घाईते पाण्डेयको केशरपुर प्राथमिक स्वास्थ्य केन्द्रमा उपचारका क्रममा मृत्यु भएको उनले बताए ।
सो दुर्घटनामा परि अन्य चार जना घाइते भएका छन् । मेलौली नगरपालिका–२ का ३४ वर्षिय हरि पाण्डेय, सोही ठाउँका २८ वर्षिय ओमप्रकाश पाण्डेय, ६५ वर्षिय डम्बरदत्त पाण्डेय र दशरथचन्द नगरपालिका–७ का ३२ वर्षिय जीप चालक जनकराज बडू घाईते भएका प्रहरी निरीक्षक बडूले जानकारी दिए ।
घाइतेहरुलाई थप उपचारका लागि डडेल्धुरा अस्पताल पठाइएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ । जीपमा पाँच जना मात्रै सवार थिए ।
शिवनाथ जात्राबाट फर्किने क्रममा जीप दुर्घटनामा परेको थियो । जीप आफैँ अनियन्त्रीत भएर सडकबाट १० मिटर तल खसेको थियो । दुर्घटनाको कारण बारे थप अनुसन्धान भैरहेको प्रहरी निरीक्षक बडूले बताए ।





















