सुर्नयामा तालाबन्दीपछि जेनजीको विज्ञप्तीः‘माग पुरा होस्, सम्वाद र सहकार्यबाट समाधान गर्न तयार छौँ’

Image

 बैतडी,
बैतडीको सुर्नया गाउँपालिकामा शुक्रबार सार्वजनिक सुनुवाई कार्यक्रम हुन गइरहेको थियो । यसक्रमा गाउँपालिकाका युवाहरुले ४ महिना पहिले नै पालिकामा सूचना माग गरेबमोजिम उपलब्ध नगराएको भन्दै विरोध जनाइरहेका थिए ।
यसअघि नै आपसी सल्लाह गरेर गाउँपालिकामा विरोधका लागि तयार भएका युवाहरुले सार्वजनिक सुनुवाई हुन नदिने अडान लिए । स्वभाविकरुपमा गाउँपालिकाले सूचना उपलब्ध नगराएपछि युवाहरु निकै रुष्ट देखिन्थे । नियमसंगत निवेदन दिएर सूचना माग्दामाग्दैपनि उपलब्ध नगराएर जनताप्रति उत्तरदायी भाव प्रकट नभएको भन्दै शुक्रबार बिहानैदेखि युवाहरुले पालिकामा नाराबाजी गरे ।
गाउँपालिकामा शुसासनको अनुभुती हुने खालका कुनैपनि कार्य नभएको हुनाले यहाँका युवाहरुमा पालिकाप्रति नैरास्यता बढ्दो रहेको जेनजी समूहका अगुवा विशाल भट्टले बताए । ‘हामिले पटक पटक पालिकाको गतिबिधि र योजनाका बारेमा निवेदन दियौँ, तर कुनै सुनुवाई नहुने, झन पालिकासँग जोडिएका महत्वका कार्यक्रम नै नहुने, युवासँग कुनै सरसल्लाहन नै नहुने गतिबिधि बढ्यो, अनि युवाहरुको आक्रोसको सिमा नाघेर शुक्रबारको घटना भयो,’ । भट्टले भने ।
सार्वजनिक सुनुवाइ कार्यक्रम नभएपछि शनिबार जेनजी समूहले एक विज्ञप्ती जारी गर्दै शुक्रबारको घटनाको बारेमा स्पष्ट पारेको छ ।


गाउँपालिकामा सञ्चालित योजना, कार्यपालिकाका निर्णय, बजेट र कार्यक्रमहरूको पारदर्शी विवरण सार्वजनिक गर्नुपर्ने, अनियमितता र भ्रष्टाचारको विषयमा स्वतन्त्र छानबिन हुनुपर्ने, प्रत्येक वडाहरूमा नागरिक र युवा सहभागितासहित संवाद गरेर अघि बढ्नुपर्ने मूख्य मागहरु विज्ञप्तीमा उल्लेख गरिएको छ । यी मागहरू सम्बोधन नभएसम्म तालाबन्दी कायम राखिने विज्ञप्तिमा उल्लेख छ ।
गाउँपालिकाले युवासहभागितामुलक सम्बाद र सहभागिताको माध्यमबाट समस्याको समाधान खोज्छ भने जेनजी समूह सुर्नया तयार रहेको जनाएको छ । आन्दोलन नेतृत्वका लागि नभइ एजेण्डाका आधारमा अघि बढेको र सुशासन, पार्दर्शिता र जवाफदेही शासन निर्माण मुख्य माग रहेको बताएको छ ।
यस आन्दोलनमा सहभागिता जनाउने सबैलाई धन्यवाद ज्ञापन गर्दै तालाबन्दीका कारण पर्न गएको असुविधाप्रति क्षमा याचना समेत गरिएको छ । यसैगरी पत्रकार सम्मेलनका क्रममा विरोधपक्षबाट भएको घटना नियोजित तरिकाले अपमान गर्न नखोजिएको विज्ञप्तीमा उल्लेख गरिएको छ ।

प्रतिक्रिया जनाउनुहाेस्