बैतडी: मंगलबार देशभर प्रदर्शन चर्किएका बेला गेट तोडफोड गर्दै बैतडी कारागारबाट भागेका कैदीबन्दी धमाधम फर्किन थालेका छन् ।
मंगलबार राति साढे ९ बजेतिर कारागारको गेट तोडफोड गरेर भागेका ६२ जना कैदीबन्दीमध्ये शुक्रबारसम्म ३० जना सम्पर्कमा आइसकेको प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेलले बताए ।
तोडफोड गरिएको कारागारको गेट मर्मत गरिएको छ । ‘३० जना मध्ये २५ लाई सुरक्षाकर्मीले पक्राउ गरिसकेका र बाँकी ५ जना पनि सम्पर्कमा आएका छन्,’ उनले भने, ‘बाँकीको पनि खोजी भइरहेको छ ।’
भारतसँग सीमा जोडिएका शिवनाथ, पञ्चेश्वर गाउँपालिका र दशरथचन्द नगरपालिकाका नाकामा कडाइ गरिएको र बन्द रहेको नाकालाई खुकुलो बनाइएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
प्रतिक्रिया जनाउनुहाेस्




















