बझाङमा शिक्षकमाथि धारिलो हतियार प्रहार

Image

बझाङमा एक जना शिक्षकमाथी धारिलो हतियार प्रहार गरिएको छ । जिल्लाको मष्टा गाउँपालिका–१ रनाडा स्थित माइतिबन आधारभुत विद्यालयमा कार्यरत  ध्रुवबहादुर रोकायामाथि आइतबार राति धारिलो हतियार प्रहार गरिएको हो ।

तीन जना अज्ञात व्यक्तिहरूले गएराति चैनपुरस्थित खुला मन्च नजिक रोकायासंग पैसा मागेको र पैसा नदिएपछि धारिलो हतियार प्रहार गरेको जनाइएको छ ।

खुकुरी प्रहार गर्दा रोकायाको दायाँ कान र गालाको भागमा गम्भीर चोट लागेको हो। जिल्ला अस्पताल बझाङमा प्रारम्भिक उपचारका क्रममा स्वास्थ्य अवस्था गम्भीर बनेपछि उनलाई थप उपचारका लागि धनगढी रेफर गरिएको परिवारले जनाएको छ। आज होसमा आएका शिक्षक रोकायाले अज्ञात व्यक्तिले धारिलो हतियार प्रहार गरेको वयान दिएका छन् । रोकायाको घर खप्तडछान्ना गाउँपालिका–३ सिप्टिकोटमा पर्छ।

यता बझाङ प्रहरी प्रमुख तथा प्रहरी नायब उपरीक्षक खगेन्द्र धमलाले भने अत्यधिक मदिरा सेवनका कारण शिक्षक आफैं लडेको हुन सक्ने प्रारम्भिक अनुमान रहेको बताएका छन्। तर पीडित परिवारले सामान्य रुपले सडकमा लड्दा त्यति ठुलो घाउ नहुने भन्दै घटनाको निष्पक्ष छानबिनको माग गरेका छन्।

घाइते रोकायाले घटनाबारे बयान दिदै भने,`दुई–तीन जनाको समूहमा आएका अज्ञात व्यक्तिहरूले आफूलाई दुई हजार रुपैयाँ माग्दा दिन नमानेपछि धारिलो हतियार प्रहार गरी भागेका हुन् ।´

पछिल्लो समय चैनपुर क्षेत्रमा लागुऔषध दुरुपयोग र मदिराजन्य समस्या बढ्दै गएको भन्दै स्थानीयले यस किसिमका घटनामा संगठित समूहको संलग्नता हुन सक्ने आशंका व्यक्त गरेका छन्।

प्रतिक्रिया जनाउनुहाेस्