बैतडी: वर्षासँगै खसेको पहिरोका कारण बैतडीमा एक घर पुरिएको छ । जिल्लाकाे सुर्नया गाउँपालिका–२ कटनाेली चौपातामा घर माथिकाे कच्ची सडकबाट खसेकाे पहिराेले एक घर पुरिएको हाे ।
आइतवार अपराह्न घरमाथिबाट खसेको पहिरोले स्थानीय गिरिस चन्दको दुईतले १२ कोठे घर पुरिएको हो। जिल्ला प्रहरी कार्यालयका प्रवक्ता, प्रहरी निरीक्षक बलराम पाण्डेयले घर पुरिँदा ९० वर्षीया गोदावरी चन्द गम्भीर घाइते भएको जानकारी दिए।
घरभित्र पुरिएकी उनको उद्धार गरी जिल्ला अस्पताल ल्याइएकामा यहाँ उपचार हुन नसकेपछि थप उपचारका लागि डडेल्धुरा ‘रेफर’ गरिएको प्रवक्ता पाण्डेयले बताए।
पहिराले घरको गोठमा रहेका १३ पशुसमेत पुरिएर मरेका छन्। चार गाई, एक गोरु, पाँच बाख्रा र तीन खसी पुरिएर मरेका हुन्।
यसका साथै घरभित्र रहेका अन्य धनमाल, अन्नपात र लत्ताकपडा पनि पुरिएका प्रहरीले जनाएको छ।
घरमा अन्य मान्छे नभएकाले थप मानवीय क्षति नभएको र लगातारको वर्षाले पहिरो र ढुङ्गा खसिरहेकाले उद्धारमा समस्या भएको प्रहरीले जनाएको छ।
यस्तै उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारी घटनास्थलमा पुगेर पीडित परिवारलाई भेटेका छन् । साथै मन्त्री भण्डारीले तत्काल उद्धार तथा राहत कार्यमा जुट्न सम्बन्धित निकायलाई निर्देशन दिए । मन्त्री भण्डारीले आफ्ना तर्फबाट खाद्यान्न लत्ता–कपडा लगायतका राहत सामग्री समेत हस्तान्तरण गर्नुभएको स्वकीय सचिव दशरथ मंगोलाले जानकारी दिए ।
मन्त्री भण्डारीले जिल्लामा हालै भएका अन्य विपद्जन्य घटनाको समेत स्थलगत अध्ययन गरी उद्धार तथा राहत कार्यमा खटिन सम्बन्धित निकायलाई निर्देशन दिनुभएको छ ।





















