बैतडी: नयाँ शहर आयोजना कार्यालयले ल्याण्ड पुलिङ (जग्गा एकीकरण) को कामअघि बढाउन स्थानीयहरुसंग छलफल गरेको छ । कार्यालयले बैतडीको पाटन नगरपालिका–६ को नङाडीबाटाको फल्दागैर भन्ने स्थानमा ल्याण्ड पुलिङको कामअघि बढाउन स्थानीयहरुसंग छलफल गरेको हो ।
बिहीबार भएको छलफलमा अधिकांश स्थानीयहरु ल्याण्ड पुलिङका लागि जग्गा उपलब्ध गराउन सहमत भएका नयाँ शहर आयोजना कार्यालय पाटनका प्रमुख रुद्रनारायण दासले जानकारी दिए । छलफलमा सहभागी २२ जनाले जग्गाधनीले ल्याण्ड पुलिङका लागि मञ्जुरीनामा समेत गरेका उनले बताए ।
यस क्षेत्रमा करिब ३५ जना जग्गाधनी रहेका छन् ।जग्गा एकीकरण अर्थात ल्याण्ड पुलिङका लागि पूर्ण रुपमा तयार रहेको स्थानीयहरुले बताएका छन् । नयाँ शहर आयोजना कार्यालयको मुख्य कामको रुपमा रहेको ल्याण्ड पुलिङका लागि जग्गा उपलब्ध गराउन आफुहरु तयार रहेको स्थानीय नारायणदत्त भट्टले बताए । “सबै जग्गाधनीसंग छलफल गरेर त्यसका लागि आवश्यक कागजातहरु उपलब्ध गराउन तयार छौ” उनले भने ।
ल्याण्ड पुलिङको काम कार्यान्वयन भए हामीलाई फाइदा पुग्ने भएकाले यसमा हाम्रो पूर्ण सहमती रहेको अर्का स्थानीय हर्षदत्त भट्टले बताए । केही व्यक्तिहरुको असहमती रहेकाले उनीहरुलाई कन्भेसन गराएर काम अघि बढाउन तयार रहेको उनको भनाई छ ।
ल्याण्ड पुलिङका लागि स्थानीयहरु संग थप समन्वय गर्न जग्गाधनी शंकर दत्त भट्टको सयोजकत्वमा ६ सदस्यीय समिति समेत गठन गरेको छ । एक हप्ताभित्र समितिले जग्गाधनी संग मञ्जुरीनामा गराउने, नागरिकता तथा जग्गाधनी पुर्जाको प्रतिलिपी संकलन गरि नयाँ शहर आयोजनाको कार्यालय उपलब्ध गराउनुपर्नेछ ।
वडा न ६ को फल्दागैर देखि नङाडीबाटा हुँदै गोइडाखोला सम्मको क्षेत्रमा ल्याण्ड पुलिङ गर्ने योजना छ । सोही अनुसार छलफल अघि सारिएको छ । छललफलमा वडा न ६ का वडा अध्यक्ष राजेन्द्र सिंह बिष्ट, जिल्ला समन्वय समिती सदस्य करन सिंह कठायत सबै राजनीतिक दलका प्रमुख एवं प्रतिनिधि, र स्थानीय जग्गाधनीको सहभागिता रहेको थियो ।
यस क्षेत्रमा ल्याण्ड पुलिङ गराउने २०८० चैत्र १ गतेको नगर विकास समितीको बैठकबाट निर्णय गरिएको थियो ।





















