पाटनमा अनियमितता भएको विषयमाथि छानबिन गर्न सहमती जुट्यो, एक हप्ताभित्र समिति गठन गरिने

Image

बैतडी,
बैतडीको पाटन नगरपालिकामा भएको भनिएका विषयमाथी छानबिन गर्न सहमती जुटेको छ । आज नगरपालिकामा बसेको सर्बदलीय बैठकबाट छानबिन समिति गठन गर्ने सहमती जुटेको हो ।
आजको मितिले ७ दिनभित्र कार्यपालिका बैठकबाट नगरस्तरीय छानबिन समिति गठन गर्ने र हालसम्म उठेका विषयमाथी अध्ययनगरी छानबिनको प्रक्रिया अघि बढाउने सहमती जुटेको हो ।
आजको सर्बदलीय बैठकमा नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्रका प्रमुख एवं प्रतिनिधि सहभागि थिए । उक्त बैठकमा नगरपालिकाको तर्फबाट नगर प्रमुख गौरी सिंह रावल, उपप्रमुख कमल सिंह बोहरा, प्रमुख प्रसासकीय अधिकृत नारायण बहादुर बिष्ट सहभागि थिए ।
सर्बदलिय बैठकका सहभागिहरुले २६ गतेको तालाबन्दी गर्ने क्रममा उठेका विषयमाथि मात्रै नभई नगरपालिकामा भएका अन्य विषयमाथि पनि छानबिन हुनुपर्ने आवाज उठेको छ ।
मुख्यगरी हाट बजार निर्माण, कोसेलीघर निर्माण, सेफ हाउस घरको पर्खाल निर्माण, फोहोरमैला व्यवस्थापन केन्द्र भएको नियमविपरितको भुक्तानी, नगरपालिकासँग जोडिएका अति गोप्य कागजातलाई सामाजिक सञ्जालमा सार्वजनिक गरिएका विषयमाथि छानबिन गरिनुपर्ने आवाज उठेका थिए ।
यही असार २६ गते लेखासाखामा नगर उपप्रमुख कमल सिंह बोहराको नेतृत्वमा तालाबन्दी गरिएपछि थप आन्दोलन भएका थिए । बिना कागजात भुक्तानी भएको, नियमानुसार भुक्तानी नभएको, काम बिना नै भुक्तानी भएको लगायतका अनियमितता भएको भन्दै तालाबन्दी भएको थियो ।
ती विषयहरुमाथि छानबिन हुनुपर्ने भन्दै राजनितिक दलहरुले विज्ञप्ती जारी गर्दै आन्दोलनका कार्यक्रमहरु पनि भएको थिए ।

प्रतिक्रिया जनाउनुहाेस्