बैतडी: बैतडीको पाटन नगरपालिका-९ स्थित जनप्रिय आधारभूत विद्यालयमा शंकरदत्त भट्टको अध्यक्षतामा विव्यस गठन गरिएको छ । निवर्तमान विव्यस अध्यक्ष कालु सिंह भाटको अध्यक्षतामा बसेको अभिभावक भेलाले भट्टको अध्यक्षतामा ९ सदस्यीय विव्यस समिति गठन गरिएको हो ।
वडा न. ९ का वडा अध्यक्ष समेत रहेका कालु सिंह भाटले विगत ९ वर्षदेखि विव्यसको जिम्मेवारीमा थिए । उनले आफ्नो ३ सकुशल कार्यकालबाट बिट मारेका छन् । विव्यस गठन भेलामा निवर्तमान विव्यस अध्यक्ष एवं वडा नं ९ का वडा अध्यक्ष कालु सिंह भाट सहितका जनप्रतिनिधि, पाटन नगरपालिकाका शिक्षा शाखाका अधिकृत बिर्खराज भट्ट लगायत आम अभिभावकको सहभागिता रहेको थियो ।
नवगठित विव्यस समितिले केही महत्वपूर्ण निर्णय गरेको छ । विद्यार्थीहरुको लागि गृहकार्य डायरी उपलब्ध गराउने र उक्त डायरीमा अभिभावहरुले पनि हस्ताक्षर गर्ने निर्णय गरिएको छ । यसैगरी मासिक परिक्षा सञ्चालन गर्ने र उत्तर पुस्तिका घरमै उपलब्ध गराइने निर्णय पनि गरिएको छ । विद्यार्थीहरुको उपस्थिति र पढाईको विषयमा जानकारी गराउनको लागि अभिभावक फोन कार्यक्रम पनि सञ्चालन गर्ने निर्णय गरिएको हो ।
यसैगरी कक्षा ३ देखि ५ सम्मका कमजोरी विद्यार्थीहरुको लागि उपचारात्मक कक्षा सञ्चालन गर्ने निर्णय गरिएको बताइएको छ । यसैगरी आजको भेलाबाटै चन्द्रदेव भट्टको अध्यक्षतामा ११ सदस्यीय सिक्षक अभिभावक संघ गठन गरिएको छ ।





















