सर्पले डस्दा कञ्चनपुरमा छाउ गोठमा सुतेकी कमलाको मृत्यु

Image

कञ्चनपुर : कञ्चनपुरमा ‘छाउ गोठ’मा सुतेकी एक युवतीको सर्पले डसेर मृत्यु भएको छ।

कृष्णपुर नगरपालिका-१ निगालीकी २८ वर्षीय कमला दमाईको महिनावारीको समयमा छाउपडी गोठमा सुतिरहेको अवस्थामा शनिबार मृत्यु भएको हो।

छाउपडी प्रथा नेपालको सुदूरपश्चिममा प्रचलित अमानवीय सामाजिक प्रथाको रुपमा अझै कायम रहेको छ।

महिनावारी भएका समयमा महिलाहरूलाई ‘अशुद्ध’ ठानी घर, परिवार र समाजबाट अलग गोठमा राख्ने गरिन्छ। जसले गर्दा महिलाहरुले अकामै ज्यान गुमाउन बाध्य छन्।

मुलुकी अपराध संहिता २०७४ को परिच्छेद १० मा भेदभाव र अपमानजनक व्यवहारसम्बन्धी कसुर शीर्षकको दफा १६८ उपदफा (३) मा महिलाको रजस्वला र सुत्केरीको अवस्थामा छाउपडीमा राख्न वा त्यस्तै अन्य कुनै किसिमको भेदभाव, छुवाछूत वा अमानवीय व्यवहार गर्नु वा गराउनु हुँदैन भनिएको छ।

यस्तो कार्य गरेको ठहरिएमा ३ महिनासम्म कैद वा ३ हजारसम्म जरिवाना हुनसक्ने व्यवस्था यस ऐनमा गरिएको छ।

प्रतिक्रिया जनाउनुहाेस्