बैतडी: बैतडीको पाटन नगरपालिकामा भएको तालाबन्दी सम्बन्धि जोडिएका विषयमाथि छानबिनको माग गर्दै नेकपा एमालेले प्रमुख जिल्ला अधिकारीसमक्ष ज्ञापन पत्र पेश गरेको छ ।
नेकपा एमालेको नगर कमिटीले प्रमुख जिल्ला अधिकारी पुण्यबिक्रम पौडेलसमक्ष ग्यापन पत्र पेश गर्दै तालाबन्दीको विषयमा छानबिनको माग गरेको हो ।
एमाले नगरकमिटी अध्यक्ष धर्मराज भट्टद्वारा हस्ताक्षरीत ज्ञापन पत्रमा सत्यतथ्य छानबिनको माग गरिएको छ । आर्थिक वर्षको अन्त्यमा बजेट फर्च्यौट गर्ने क्रममा बिना कागजात भुक्तानी भएको, आर्थिक अनियमितता भएको भन्दै उपप्रमुखको नेतृत्वमा गरिएको तालाबन्दीप्रती ध्यानाकर्षण भएको एमालेले जनाएको छ ।
जनप्रतिनिधिहरुले नै आर्थिक अनियमितता भएको भन्दै तालाबन्दी गरेपछी झनै आसङ्का बढेकाले सत्यतथ्य छानबिन गरिनुपर्ने एमाले नगर कमिटी अध्यक्ष धर्मराज भट्टले बताए ।
कुनै ब्याक्ति लक्षित नगरी साझा धारणा बमोजिम पालिकाको विषयमा चासो राख्दै छानबिनको माग गरिएको एमाले नगर इन्चार्ज एवं प्रदेश कमिटी सदस्य धर्मानन्द भट्टले बताए ।
आर्थिक चलखेल र अनियमितताको आसङ्का पैदा भएकाले यस विषयमा सबैको चासो रहनु पर्ने भट्टले बताए ।
ज्ञापन पत्र बुझाउनको लागि नेकपा एमाले पाटन नगर कमिटीका इन्चार्ज धर्मानन्द भट्ट, नगर अध्यक्ष धर्मराज भट्ट, वडा न ४ का वडा अध्यक्ष दिपक बिष्ट, नेकपा एमाले पाटनका नगर उपसचिव महेस पन्त उपस्थित थिए ।





















