बैतडी: बैतडीलाई “पूर्णखोप सुनिश्चितता तथा दिगोपना” जिल्ला घोषणा गरिएको छ । यहाँका सबै स्थानीय तहहरु पूर्णखोप सुनिश्चितता तथा दिगोपना घोषणा भैसकेकाले शुक्रबार बैतडीलाई “पूर्णखोप सुनिश्चितता तथा दिगोपना” जिल्ला घोषणा गरिएको हो ।
सबै बालबालिकाहरुले राष्ट्रिय खोप तालिकाअनुसार खोप पाएको प्रमाणीकरण भैसकेकपछि जिल्लालाई नै पूर्णखोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको स्वास्थ्य कार्यालय बैतडीका प्रमुख तीर्थराज भट्टले जानकारी दिए ।
जन्मेदेखी १५ महिना सम्मका ४ हजार ३३१ जना बालबालिका र १६ देखी ५९ महिनासम्मका १३ हजार १४८ जना बालबालिकाले आवश्यक सबै खोप पाइसेकपछि पूर्णखोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा गरिएको सूचना अधिकारी बिपिन लेखकले जानकारी दिए ।
यस्तै जिल्ला खोप समन्वय समितिले १० जना खोप कार्यकर्तालाई सम्मान गरेको छ । पूर्णखोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणामा उत्कृष्ट काम गर्ने खोपकार्यकर्तालाई प्रमाणपत्र, दोसल्ला तथा नगदसहित सम्मान गरिएको खोप सुपरभाइजर निरीक्षक हरिशप्रसाद भट्टले जानकराी दिए।
बैतडीलाई वि.स. २०७२ असार ६ गते पूर्ण खोपयुक्त जिल्ला घोषणा गरिएको थियो । त्यसयता प्रत्येक वर्ष पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा गर्ने गरिएको छ ।
स्वास्थ्यकर्मीको प्रयास, स्थानीय सरकारको सहभागिता र जनचेतनाको समन्वयले लक्ष्यअनुसारको प्रगति सम्भव भएको जिल्ला समन्वय समितिका संयोजक तथा जिल्ला समन्वय प्रमुख खगेन्द्र सिंह धामीले बताए ।





















