बैतडी: बैतडीको शिवनाथ गाउँपालिका–२ स्थित ऐतिहासिक शर्माली गढी संरक्षणका लागि वृक्षारोपण गरिएको छ। शुक्रबार गढीको घेरबार गरिएको क्षेत्रमा नागार्जुन मावि शर्मालीका विद्यार्थीहरुले वृक्षारोपण गरेका शिवनाथ गाउँपालिकाका अध्यक्ष कर्णसिंह साउँदले बताए ।
गढीको संरक्षणका लागि घेरबार गरिएको भएपनि घेरबार समेत तोडफोड गरेको पाइएकाले सञ्जिवनीका बोट रोपण गरिएका उनले बताए। गाईगोरुले समेत ती बोटहरु नखाने भएकाले गढीको घेरबार गरिएको क्षेत्रमा वृक्षारोपण गरिएको अध्यक्ष साउँदले जानकारी दिए ।
नेपाल–अंग्रेज युद्धको समयमा तत्कालिन नेपाली फौज शर्माली गढीमा बसेको इतिहास छ । ऐतिहासिक गढी भएकाले यो गढीको संरक्षणमा बालबालिकाहरुलाई समेत जोड्ने अभिप्रायले विद्यार्थीहरुको सहभागितामा वृक्षारोपण गरिएको अध्यक्ष साउँदले बताए ।
केही बर्ष अगाडि शर्माली गढीमा पुग्नका लागि नेपाली सेनाले पदमार्ग निर्माण गरेको थियो। गोर्खाली सेनाले कुमाउ विजय गर्ने बेलाको महत्वपूर्ण किल्लाको रुपमा रहेको शर्माली गढीमा पुग्नका लागि नेपाली सेनाले पदमार्ग निर्माण गरेको बताइएको छ।
१५ लाखको लागतमा नेपाली सेनाले २६३ मिटर लामो पदमार्ग निर्माण गरेर गाउँपालिकालाई हस्तान्तरण गरेको थियो। गाउँपालिकाले गढीको ८ सय मिटर जति भागमा तारबार लगाएको अध्यक्ष साउँदले बताउनुभयो। सन् १७९० मा गोर्खाली सेनाले कुमाउ विजयका लागि लडाँई लड्दा शर्माली गढीमा गोर्खाली सेना बसेको स्थानीय जानकार शिवराज कलौनीले बताउनुभयो। डडेल्धुरामा रहेको अमरगढी किल्लाको सहायक किल्लाको रुपमा शर्माली गढी रहेको उनले बताए ।
गोर्खाली सेनाले सन् १७९० मा कुमाउ विजयी अभियान चलाउँदा शर्माली गढीलाई मुख्य किल्लाको रुपमा लिएर सेना तैनाथ गरेको इतिहास रहेको कलौनीले बताए। उनले भने ‘शर्माली गढीमा अहिले पनि सेनाले बनाएका सुरङ, प्रवेशमार्गहरु देख्न सकिन्छ। उतिबेला नै निर्माण गरेका पर्खाल देख्न सकिन्छ।’
तत्कालिन समयमा सेनाले लडाँईको बेला प्रयोग गरेका खुँडा खुकुरी समेत त्यो गढीमा केही बर्ष पहिला फेला परेका थिए। शर्मालीगढीबाट महाकाली नदी पार गरेर कुमाउ जान गोर्खाली सेनालाई सजिलो भएकाले शर्माली गढीमा सेनाको टुकुडी बसेको इतिहास रहेको जानकार कलौनीले बताए।





















