बैतडी: बैतडीको दोगडाकेदार गाउँपालिकालाई पूर्ण संस्थागत सुत्केरी गाउँपालिका घोषणा गरिएको छ । “सुरक्षीत मातृत्व, हामी सबैको दायित्व” भन्ने नारासहित बिहीबार जिल्लाकै पहिलो पालिकाको रुपमा पुर्ण संस्थागत सुत्केरी गाउँपालिका घोषणा गरिएको हो ।
गाउँपालिका भित्रका सबै आमाहरुले स्वास्थ्य संस्थामा बच्चा जन्माएको र अन्य सुचकहरु पनि पुरा भएकाले गाउँपालिकालाई पूर्ण संस्थागत सुत्केरी गाउँपालिका घोषणा गरिएको स्वास्थ्य शाखा प्रमुख नरेन्द्र नाथले जानकारी दिए । आर्थिक वर्ष २०८१/०८२ मा ३०८ जना आमाले बच्चा जन्माएको र उनीहरु सबैले स्वास्थ्य संस्थामै बच्चा जन्माएको उनले बताए ।
गाउँपालिकाका ८ ओटै वडाहरुलाई पूर्ण संस्थागत सुत्केरी वडा घोषणापछि गाउँपालिकालाई पूर्ण संस्थागत सुत्केरी गाउँपालिका घोषणा गरिएको हो । कार्यक्रममा बौल्दै गाउँपालिका अध्यक्ष चक्र कार्कीले विभिन्न चुनौतिका बाबजुत पनि दोगडाकेदारलाई जिल्लाकै पहिलो स्थानीय तहको रुपमा पूर्ण संस्थागत सुत्केरी गाउँपालिका घोषणा गर्न सफल भएको बताए ।
पूर्ण संस्थागत सुत्केरी गाउँपालिका घोषणाका लागि सुरुदेखी नै विभिन्न कार्यक्रमहरु सञ्चालन गर्दै आएको र अहिले यसले सार्थकता पाएको गाउँपालिका उपाध्यक्ष पार्वती कार्कीले बताइन् । गाउँपालिकाले उपाध्यक्षको कोशेली वितरण कार्यक्रम संगै गर्भवति आमाहरुलाई स्वास्थ्य संस्थासम्म पुर्याउनका लागि निशुल्क एम्बुलेन्सको व्यवस्था पनि गरेको उनले जानकारी दिइन् ।
गर्भवती आमाहरुले स्वास्थ्य संस्थामै बच्चा जन्माएको, गर्भवती आमाहरुले नेपाल सरकारको प्रोटोकल अनुसार ८ पटक गर्भ जाँच गरेको, गर्भवती तथा सुत्केरी आमाहरुले आइरन चक्की सेवन गरेको, सुत्केरीपछि आमाहरुले स्वास्थ्य जाँच गरेको लगायतका सूचकहरु पूरा भएपछि गाउँपालिकालाई पूर्ण संस्थागत सुत्केरी गाउँपालिका घोषणा गरिएको स्वास्थ्य शाखा प्रमुख नाथले बताए ।
पूर्ण संस्थागत पालिका घोषणा कार्यक्रमका प्रमुख अतिथि रहनु भएका नेपाल सरकारका उद्येग वाणिज्य तथा आपूर्ती मन्त्री दामोदर भण्डारीले स्वास्थ्य क्षेत्रमा दोगडाकेदारले ऐतिहासिक उपलब्धी हासिल गरेको बताएका छन् । सरकारले स्वास्थ्यको क्षेत्रमा अबलम्बन गरेका उदेस्य पुरा गरेको बताएका हुन् । यस कार्यक्रमले मातृ तथा नवजात शिशु मृत्युदरमा कमी ल्याएको बताए।





















