बैतडीको पाटन पूर्ण खोप सुनिश्चित नगरपालिका घोषणा

Image

बैतडी: बैतडीको पाटन नगरपालिका पूर्ण खोप सुनिश्चित नगरपालिका घोषणा गरिएको छ । सोमबार  नगरपालिकालाई पूर्ण खोप सुनिश्चित नगरपालिका घोषणा गरिएको हो।

हरेक बर्ष खोप पाउने उमेरका बालबालिकाहरुले खोप पाएको एकीन भएपछि पूर्ण खोप सुनिश्चित घोषणा गर्ने गरिएको नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख मदनसिंह महराले बताए । पाटन नगरपालिकाका १० ओटै वडा पूर्ण खोप सुनिश्चित घोषणापछि नगरपालिकालाई पूर्ण खोप सुनिश्चित नगरपालिका घोषणा गरिएको हो ।

नगर क्षेत्रभित्र रहेका जन्मेदेखि १५ महिनासम्मका ४ सय ९८ जना र १६ महिनादेखि ५९ महिनासम्मका १ हजार ६ सय ९९ जना बालबालिकाहरुले खोप पाएको सुनिश्चित भएपछि नगरपालिकालाई पूर्ण खोप सुनिश्चित घोषणा गरिएको हो ।

नगरपालिकालाई पूर्ण खोप सुनिश्चित घोषणा गर्नुअघि खोप कार्यकर्ताहरुले घरघरमा पुगेर बालबालिकाहरुले राष्ट्रिय खोप तालिका अनुसार खोप पाए÷नपाएको एकीन गरेका थिए ।

नगरपालिकालाई हरेक बर्ष पूर्ण खोप सुनिश्चित नगरपालिका घोषणा गरिँदै आएको छ । पूर्ण खोप सुनिश्चितता र दिगोपनाका लागि सरोकारवालाहरुले प्रतिबद्धता व्यक्त गरेका स्वास्थ्य शाखा प्रमुख महराले बताए । बालबालिकाहरुलाई विभिन्न १३ ओटा रोगविरुद्ध निशुल्क रुपमा खोप दिने गरिएको छ ।

यसैबीच पाटन नगरपालिकालाई पूर्ण खोप सुनिश्चित नगरपालिका घोषणामा सहयोग गर्ने खोप कार्यकर्ता र महिला स्वास्थ्य स्वयंसेविकाहरुलाई सम्मान गरिएको छ । १० ओटै वडाका विभिन्न स्वास्थ्य संस्थामा कार्यरत १० जना खोप कार्यकर्ता र १० जना महिला स्वास्थ्य स्वयंसेविका गरेर २० जनालाई प्रमाणपत्रसहित दोसल्ला ओढाएर सम्मान गरिएको स्वास्थ्य शाखामा कार्यरत जनस्वास्थ्य निरीक्षक दमयन्ती ऐरले बताइन् ।

पाटन नगरपालिकाका नगर प्रमुख गौरीसिंह रावलको अध्यक्षतमा भएको पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा कार्यक्रममा जिल्ला समन्वय समिति प्रमुख खगेन्द्रसिंह धामी प्रमुख अतिथी रहेका थिए । उक्त कार्यक्रममा उपप्रमुख कमलसिंह बोहरा, वडा अध्यक्ष लगायतका जनप्रतिनिधि, कर्मचारी र स्वास्थ्यकर्मीहरुको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया जनाउनुहाेस्