बर्षौदेखीअलपत्र पाटन बसपार्कमा स्थानीयले गरे धान रोपाइँ

Image

बैतडीको पाटन बजारस्थित बसपार्कको निर्माण एक दशकसम्म पनि सम्पन्न नभएपछि असार १५ अर्थात् राष्ट्रिय धान दिवसको अवसर पारेर स्थानीयले हलगोरु प्रयोग गरी रोपाइँ गरेका छन् ।

२०७१/ ०७२ मा सुरु गरिएको पाटन बसपार्कको निर्माणकार्य हालसम्म अधुरै रहँदा विरोधस्वरुप स्थानीयले प्रतीकात्मक रूपमा धान रोपेर सम्बन्धित निकायको ध्यानाकर्षण गराएका हुन् । पाटन बजार व्यवस्थापन समितिका अध्यक्ष खेमराज भट्टका अनुसार पटक–पटक अनुरोध गर्दा पनि बसपार्कको निर्माण कार्य अगाडि नबढेकाले बाध्य भई शान्तिपूर्ण विरोधको माध्यमबाट दबाब दिन रोपाइँ गरिएको हो ।

स्थानीय व्यापारी कृष्णसिंह भाटका अनुसार सवारीसाधनको चापलाई ध्यानमा राखी सुरु गरिएको बसपार्क निर्माणकार्य सम्पन्न नहुँदा पाटनवासीलाई दैनिक रुपमा समस्या व्यहोर्नुपरेको छ । निर्माण नहुँदा बजार क्षेत्रमै सवारी पार्किङ हुन थालेको छ, जसले थप अव्यवस्था सिर्जना गरेको भाटले बताए ।

पाटन नयाँ सहर आयोजना अन्तर्गत आठवटा बस र चारवटा जीप पार्किङ गर्न सक्ने क्षमताको बसपार्क निर्माण थालिएको थियो । तर निर्माण सुरु भएको एक दशक पुगिसक्दासमेत काम सम्पन्न नहुनु चिन्ताको विषय भएको स्थानीयको भनाइ छ ।

सरकारले मध्यपहाडी लोकमार्ग अन्तर्गतको १० औं नमुना सहरका रूपमा पाटनमा बसपार्क निर्माण कार्य थालेको भए पनि विभिन्न कारणले काम रोकिँदा विकास कार्यमा अवरोध आएको स्थानीयवासीको गुनासो छ ।

स्थानीय नागरिक तथा व्यवसायीहरूले निर्माण कार्य तत्काल अघि बढाई निर्धारित समयमा सम्पन्न गर्न सरोकारवालाको ध्यानाकर्षण गराएका छन् ।

पाटन बसपार्कमा निर्माणमा अहिलेसम्म १ करोड ८० लाख जति खर्च भइसकेको नयाँ शहर आयोजनाका प्रमुख रुद्रनारायण दासले बताए । पछिल्लो समयमा थोर–थोरै बजेट आएका कारणले निर्माण कार्य समयमै सम्पन्न हुन नसकेको उनको भनाइ छ । आयोजनाकातर्फबाट गर्नुपर्ने काम अन्तिम चरणमा रहेको र केही दिनभित्र नगरपालिकालाई हस्तान्तरण गरिने उनले बताए ।

प्रतिक्रिया जनाउनुहाेस्