बैतडीको पञ्चेश्वरमा सम्पन्न आँखा शल्यक्रिया शिविरमा १ सय ३३ जनाको आँखाको शल्यक्रिया

Image

बैतडीः बैतडीको पञ्चेश्वर गाउँपालिकामा सञ्चालन भएको निशुल्क आँखा शल्यक्रिया शिविरमा १ सय ३३ जनाको आँखाको शल्यक्रिया गरिएको छ । बिहीबार र शुक्रबार कुलाउ स्वास्थ्य चौकीमा सञ्चालन भएको आँखा शिविरमा १३३ जनाको निशुल्क आँखाको शल्यक्रिया गरिएको हो ।
शिविरमा मोतीबिन्दु र आँखामा मासु पलाएहरुको शल्यक्रिया गरिएको गाउँपालिकाको स्वास्थ्य शाखामा कार्यरत नारायण राम सार्कीले जानकारी दिए ।
यसअघि जेठ ६ गते गाउँपालिकाको वडा नम्बर ५ को गणमेश्वर आधारभूत विद्यालयमा सञ्चालन गरिएको छनोट शिविरमा ३१ जनामा मोतिबिन्दुको समस्या देखीएकोमा उनीहरुको पनि कुलाउमै शल्यक्रिया गरिएको उनले बताए ।

“शिविरमा ६ सय ६२ जनाको आँखाको चेकजाँच गरेर औषधी वितरण गरिएको छ” उनले भने, “२ सय ६५ जनालाई निशुल्क चश्मा वितरण गरिएको छ ।”

स्थानीय नागरिकहरुलाई आफ्नै ठाउँमा आँखाको सेवा दिने उद्देश्यले विभिन्न निकायहरुसंगको साझेदारीमा शिविर सञ्चालन गरिएको गाउँपालिका अध्यक्ष गोरख बहादुर चन्दले बताए ।
शिविरमा आँखाको समस्या भएको अधिकांश जेष्ठ नागरिकहरुले सेवा लिएका छन् । स्थानीयस्तरमै शिविर सञ्चालन हुँदा आर्थिक भार समेत नपरेको गाउँपालिका उपाध्यक्ष बिना भट्टले बताइन् ।

गाउँमै गुमेको शिविर मार्फत आँखाको ज्योति फर्किएपछि स्थानीयहरु पनि खुशी भएका छन् । पञ्चेश्वर गाउँपालिकाको आयोजना, च्यारिटी हेल्थ फाउण्डेसन नेपालको आर्थिक सहयोग, धनगढी नेत्रालय र श्रीकृष्ण आँखा अस्पताल प्रालि टीकापुरको प्राविधिक सहयोगमा शिविर सञ्चालन गरिएको थियो ।

प्रतिक्रिया जनाउनुहाेस्