बैतडीः दशरथचन्दका विद्यालयमा आयुर्वेद शिक्षा

Image

बैतडीको दशरथचन्द नगरपालिकाले विद्यार्थीहरुलाइ आयुर्वेद शिक्षा दिन थालेको छ । नगरपालिकाले पाँच ओटा माध्यमिक विद्यालय छनौट गरि विद्यार्थीहरुलाइ आयुर्वेद शिक्षाका बारेमा जानकारी दिन थालेको हो ।

स्थानीय स्तरमा पाइने जडीबुटीहरुको प्रयोग तथा संरक्षण, आयुर्वेद जीवनशैलि र स्वस्थकर आहारविहार लगायतका विषयमा बालबालिकहरुमा प्रशिक्षण दिने गरिएको दशरथचन्द नगरपालिकाका आयुर्वेदक कार्यक्रम संयोजक वैद्य निरीक्षक नरेन्द्रप्रसाद कलौनीले जानकारी दिए ।

स्थानीय स्तरमा पाइने औषधीजन्य जडीबुटी लोभ हुने अवस्थामा पुगेकाले त्यसको महत्व र संरक्षणका बारेमा विद्यार्थीहरुलाई जानकारी दिने गरिएको छ । आयुर्वेद शिक्षाका लागि यो वर्ष मणिलेक मावि गुरुखोला, निङ्गलाशैनी मावि देहीमाण्डौं, विरेन्द्र मावि शाहीलेक, कुलौन मावि खतेडी र केदार नागार्जुन मावि बग्लेखानलाई छनोट गरिएको उनले बताए ।

कलौनीले भने “यो वर्ष पाँच ओटा माध्यमिक विद्यालय आयुर्वेद शिक्षाका लागि छनोट गरिएको छ । आगामी बर्षमा अरु विद्यालयहरुमा पनि लागू हुन्छ ।”

यसअघि पाँचओटै विद्यालय आयुर्वेद तथा योग फोकल शिक्षकहरुलाई तालिम समेत दिइएको छ । शिक्षकहरुले पनि विद्यालयमा आयुर्वेद र योगका बिषयमा नियमित कक्षा सञ्चालन गर्ने गरेको बताइएको छ । विद्यालयमा आयुर्वेद तथा योग शिक्षा अन्तर्गत बालबालिकाहरुलाई विभिन्न योगासनका बारेमा समेत जानकारी गराउने गरिएको कलौनीले बताए ।

प्रतिक्रिया जनाउनुहाेस्