बैतडीको पाटन र दशरथचन्दमा ‘वास फिट’ कार्यक्रम लागू

Image

बैतडीका दुई स्थानीय तहमा खानेपानी,सरसफाइ,स्वच्छता र स्वास्थ्यजन्य फोहर व्यवस्थापन (वास फिट) कार्यक्रम लागू भएको छ । जिल्लाको पाटन र दशरथचन्द नगरपालिकामा ‘वास फिट’ कार्यक्रम लागू भएको स्वास्थ्य कार्यालय बैतडीका सूचना अधिकारी विपिन लेखकले जानकारी दिए । यो कार्यक्रम अन्तर्गत स्वास्थ्य संस्थाहरुमा स्वास्थ्यजन्य फोहर व्यवस्थापनको पक्षलाई सुदृढ गर्दै आगामी कार्ययोजना बनाउन सहयोग पुग्ने सूचना अधिकारी लेखकले बताए ।

दुईटै स्थानीय तहमा रहेका सबै स्वास्थ्य संस्थामा कार्यक्रम लागू हुनेछ । स्वास्थ्य संस्थाहरूले आफ्नो स्वास्थ्य संस्थामा स्वास्थ्यजन्य फोहोर व्यवस्थापनको अवस्थाका बारेमा एउटा टोली गठन गरेर स्वमूल्यांकन गर्ने छन् । त्यसपछि स्वमूल्यांकन गरि पत्ता लागेका समस्या समाधानका लागि कार्ययोजना बनाएर लागू गरिने स्वास्थ्य कार्यालय बैतडीका प्रमुख तीर्थराज भट्टले जानकारी दिए ।

स्वास्थ्य संस्थाहरुको स्वमूल्यांकन गरी सुधारका लागि पहल गरिनेछ । कार्यक्रमलाई प्रभावकारी बनाउन दशरथचन्द नगरपालिका र पाटन नगरपालिका अन्तर्गतका स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मीहरुसंग अन्तरक्रिया समेत गरिएको स्वास्थ्य कार्यालय बैतडीले जनाएको छ ।

यो कार्यक्रम बैतडीसहित सुदूरपश्चिम प्रदेशका कैलाली र कञ्चनपुर जिल्लामा पनि लागू भएको छ ।

प्रतिक्रिया जनाउनुहाेस्