सफ्टवेयर खरीदका लागि मेलौली नगरपालिकाले ५ लाख रुपैयाँ बजेट विनियोजन गरेपछि स्वास्थ्य बीमा सेवा शुरु गर्नका लागि आवश्यक सफ्टवेयर किन्ने तयारी भएको स्वास्थ्य बीमा बोर्ड बैतडीका प्रमुख जमन बडालले बताए ।
सफ्टवेयर खरीद गरेपछि केही दिनभित्र केशरपुर प्राथमिक स्वास्थ्य केन्द्र मेलौलीलाई प्रथम बिन्दु मानेर सेवा दिइने बडालले बताए ।अहिले यस बिषयमा छलफल भैरहेको छ ।
यसअघि त्यो क्षेत्रका नागरिकका लागि पाटन प्राथमिक स्वास्थ्य केन्द्रलाई प्रथम बिन्दु तोकिएको थियो । स्वास्थ्य बीमामा आवद्ध भएका नागरिकहरुलाई प्रथम बिन्दुबाट प्राप्त हुने सेवा सोही ठाउँमा उपलब्ध हुन्छ भने रेफर गर्नुपर्नेहरुलाई पनि सोही ठाउँबाट रेफर गर्नुपर्ने प्रावधान रही आएको छ ।
बैतडीमा २९ हजार ८३ परिवारका ५२ हजार जना स्वास्थ्य बीमामा आवद्ध भएका छन् । स्वास्थ्य बीमामा आवद्ध भएका सदस्यहरुले १ लाख सम्मको उपचार निशुल्क रुपमा पाउने गरेका छन् ।




















