बैतडीको शिवनाथ गाउँपालिकामा निशुल्क आँखा शल्यक्रिया शिविर सञ्चालन भएको छ । गाउँपालिका र च्यारिटी हेल्थ फाउण्डेसन नेपालको आयोजना तथा धनगढी नेत्रालय र श्रीकृष्ण आँखा अस्पताल प्रालि टीकापुरको प्राविधिक सहयोगमा दुई दिने शिविर मंगलबारदेखी सञ्चालन भएको हो ।
शिविरमा मोतिबिन्दु, जलबिन्दु, आँखामा मासु पलाएका तथा परेला फर्किएका बिरामीहरुको निशुल्क शल्यक्रिया र आँखा सम्बन्धी चेकजाँच तथा परामर्श सेवा प्रदान गरिने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नरेन्द्र सिह महताले जानकारी दिए ।
गाउँपालिकाबासीहरुलाई आँखा स्वास्थ्य सम्बन्धी सेवा दिने उद्देश्यले विभिन्न संघसंस्थाहरुसंग सहकार्य गरेर आँखा शिविर सञ्चालन गरिएको गाउँपालिका अध्यक्ष कर्णसिंह साउँदले जानकारी दिए ।गाउँपालिकाले गत बर्षपनि च्यारिटी हेल्थ फाउण्डेसन, धनगढी नेत्रालयसंगको सहकार्यमा शिविर सञ्चालन गरेको थियो ।
शिविर आज र भोली सञ्चालन हुने शिवनाथ गाउँपालिकाका सूचना अधिकारी महेश सिंह महताले जानकारी दिए । सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न स्थानीय तहहरुमा आयोजना गरिएका शिविरमा प्राविधिक सहयोग गर्दै आएको धनगढी नेत्रालयका अध्यक्ष गजेन्द्रबहादुर चन्दले बताए ।




















