बैतडी: बैतडीको पाटन नगरपालिकामा भएको आर्थिक अनियमितताको विषयमा ध्यानाकर्षण जनाउदै राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले विज्ञप्ती जारी गरेको छ । विभिन्न योजनाहरुको नाम नै किटान गरी रास्वपाले तत् योजनामा अनियमितता भएको भन्दै छानबिनको माग गरेको हो ।
रास्वपाका जिल्ला उपसभापति हेमन्त ऐरद्धारा हस्ताक्षरित विज्ञप्तीमा पाटन नगरपालिकामा २०७४ सालदेखिकै छानबिन हुनुपर्ने माग गरिएको छ ।
‘गत २६ गते उपप्रमुख कमल सिंह बोहराको नेतृत्वमा नगरपालिकाको आर्थिक प्रशासन शाखामा अनियमितताको विरुद्ध उप–प्रमुखद्वारा गरिएको औपचारिक तालाबन्दीलाई प्रशासनद्वारा बल प्रयोग गरी तोड्नु र त्यसपछि समेत पटक–पटक सूचना प्रवाह रोक्ने, कार्यकक्षमा तालाबन्दी गर्ने, तथा कार्यालय परिसरमै काँडेतार लगाउनेजस्ता गैरलोकतान्त्रिक अभ्यासहरू हुनु लोकतान्त्रिक व्यवस्थामाथिको खुला हमला हो’ विज्ञप्तीमा जोडतोडकासाथ उल्लेख गरिएको छ ।
रास्वपाले केही विषयहरु किटान नै गरेको छ ।
अधूरा योजनाहरूमा समेत पूरै भुक्तानी गरिएको तथ्यः प्राप्त भएको उल्लेख गरेको छ। पाटन बजारमा निर्माणाधीन अवस्थामा रहेको कोसेली घर निर्माण पुरा नहुदै भुक्तानी भने पुरै ६५ लाख नै गरिसकेको उल्लेख छ ।
पाटन हाट बजारको योजनामा पनि २५ लाख दिएको र अझैपनि निर्माण कार्य पुरा नभएको बताइएको छ ।
उदयदेव धार्मिक स्थलमा निर्माण भएको पर्खालमा गुणस्तरहीन काम गरेको, तर उपप्रमुखले रोक लगाउँदा पनि नगर प्रमुखद्वारा भुक्तानी गर्न दबाब सिर्जना गरिएको विज्ञप्तीमा उल्लेख गरिएको छ ।
यसैगरी गुजर स्वास्थ्य चौकी, कापडी–मेलचौर सडक, वडा कार्यालय निर्माण लगायतका योजनामा पनि प्रक्रिया विहीन भुक्तानी भएको छ ।
यसैगरी हालैमात्र नेकपा एमालेले नगरपालिकामा विरोधस्वरुप लगाएको काणेतारको विषयलाई पनि गम्भिर चासोका साथ उठाएको छ । कार्यालय गेटमा काँडेतार लगाउनेजस्ता क्रियाकलाप नागरिक–प्रशासन सम्बन्धमाथिको गम्भीर प्रहार भएको र जसले राज्यप्रतिको विश्वास घटाउने भएकाले यस्ता घटनाको घोर भत्सर्ना गराउन चाहेको विज्ञप्तीमा उल्लेख छ ।
राष्ट्रिय स्वतन्त्र पार्टीले यी विषयमाथी आफ्ना मागहरु पनि अघि सारेको छ ।
नगरपालिकामा तालाबन्दी गरिनु, काणेतार लगाइनु लगायतका विषयहरु जनताको बिरुद्ध नै भएको तर हालै नगरपालिमा उठेका सबै विषयमाथी गम्भिर छानबिन हुनुपर्ने उपसभापति हेमन्त ऐरले बताए ।
मागहरु निम्नानुसार छन् ।
१, स्वतन्त्र र निष्पक्ष छानबिन समिति गठन गरि २०७४ साल देखि हालसम्मको हरेक आर्थिक गतिबिधिको छानबिन गरियोस जसमा न्याय क्षेत्रका अनुभवी व्यक्ति, नागरिक समाजका प्रतिनिधि र स्वतन्त्र प्राविधिक विज्ञहरूको सहभागिता सुनिश्चित गरियोस्।
२, अनियमितता र अधिकार हननमा संलग्न जिम्मेवारहरूलाई कानुनी प्रक्रियाबाट जवाफदेही बनाइयोस्।
३, स्थानीय प्रशासनमा जनउत्तरदायित्व र पारदर्शिता कायम गरियोस् र कुनै पनि गैरलोकतान्त्रिक अभ्यास दोहोरिने सम्भावनालाई अन्त्य गरियोस् ।
राष्ट्रिय स्वतन्त्र पार्टी बैतडी स्थानीय तहमा जवाफदेहिता, पारदर्शिता र विधिको शासन स्थापनाका लागि सदैव प्रतिबद्ध रहँदै आएको विज्ञप्तीमा उल्लेख छ ।





















