बैतडी, २५ भदौ: बैतडीको दशरथचन्द नगरपालिका–१ पितलथलाकी ७२ वर्षीया भुन्टी विकले नेपाली नागरिकताको प्रमाणपत्र प्राप्त गर्नुभएको छ । सात दशकबढी समय नागरिकता विहीन विकलाई प्रमुख जिल्ला अधिकारी मीना अर्यालले नागरिकताको प्रमाणपत्र प्रदान गर्नुभएको हो ।
सुस्त मनस्थितीकी विकलाई उनको वडा कार्यालयमै पुगेर बिहीबार नागरिकताको प्रमाणपत्र प्रदान गरिएको प्रमुख जिल्ला अधिकारी अर्यालले जानकारी दिनुभयो ।
कार्यालयमा पुगेर नागरिकता लिने अवस्थामा नरहेपछि उनलाई वडा कार्यालयमा पुगेर नागरिकताको प्रमाणपत्र प्रदान गरिएको उहाँले बताउनुभयो ।
नागरिकता नहुँदा उहाँ राज्यबाट प्राप्त हुने सामाजिक सुरक्षा भत्तालगायतका सेवासुविधाबाट समेत वञ्चित हुँदै आउनुभएको थियो। नागरिकता प्राप्त गरेसंगै राज्यबाट उपलब्ध हुने सामाजिक सुरक्षा भत्तालगायतका सेवासुविधा प्राप्त गर्ने बाटो खुलेको छ।
प्रशासनले ‘अशक्तको घरमा प्रजिअ’ कार्यक्रम अन्तर्गत अशक्त तथा अपाङ्गता भएका व्यक्तिहरुलाई घर तथा पायक पर्ने स्थानमा पुगेर नागरिकता प्रदान गरिरहेको छ । यसअघि गएको बिहीबार दशरथचन्द नगरपालिका–६ की मानसिक अपांगता भएकी अस्मिता पन्तलाई उनको घरमै पुगेर नागरिकता प्रदान गरिएको थियो ।
जिल्लाभरीका अशक्त तथा अपांगता भएका नागरिकहरुको विवरण संकलनको काम भइरहेको जिल्ला प्रशासन कार्यालय बैतडीले जनाएको छ । नागरिकताबाट वञ्चित रहेका अशक्त तथा अपांगता भएका नागरिकहरुलाई सकेसम्म उनीहरुकै घरमा र नभए नजिकको वडा कार्यालयमा नागरिकता प्रदान गर्ने हिसाबले काम भइरहेको प्रमुख जिल्ला अधिकारी अर्यालले बताउनुभयो ।
जिल्लाभरी डेढसयको हाराहारीमा यस्ता नागरिक हुन सक्ने आँकलन गरिएको छ । उनीहरु सबैलाई घरमै अथवा पायक पर्ने स्थानमा नेपाली नागरिकताको प्रमाणपत्र प्रदान गर्ने हिसाबले योजना बनाइरहेको प्रजिअ अर्यालले बताउनुभयो ।















