बैतडी, २२ भदौः बस्तीमाथी जमिनमा दरार परेपछि बैतडीमा १८ घर पहिरोको उच्च जोखिममा परेका छन् । यहाँको डिलाशैनी गाउँपालिका–१ बरभकेका १८ घर पहिरोको जोखिममा परेका हुन् ।
बस्तीमाथीको खेत तथा जमिनमा दरार परेपछि गाउँ नै जोखीममा रहेको स्थानीय लक्ष्मण जागरीले बताउनुभयो । पानी निरन्तर परीरहेकाले पहिरोको त्रास बढेको उहाँले बताउनुभयो ।
बस्तीभन्दा माथि जमिन चिरा—चिरा परेकाले घरहरू पहिरोको जोखिममा रहेका डिलाशैनी गाउँपालिका–१ का वडाध्यक्ष कृष्णकुमार धामीले जानकारी दिनुभयो । आइतबार दिउँसो ३ बजेतिर पहिरो गएको थियो । त्यसपछि उक्त क्षेत्रको प्रहरी, जनप्रतिनिधि तथा कर्मचारीले स्थलगत निरीक्षण गरेका थिए ।
“बस्तीबाट करिब चार–पाँच सय मिटरमाथी जमिन चिरा–चिरा परेर भाँसिएको छ । केही दिनयता निरन्तर वर्षा भइरहेकाले पहिरोको जोखिम छ”, उहाँले भन्नुभयो, “जोखिममा रहेका परिवारलाई सुरक्षित स्थानमा सार्न पहल भइरहेको छ ।”
गोरेदत्त भट्ट, कृष्णदत्त भट्ट, महावीर धामी, दुरा धामी, जसिदत्त भट्ट, मनिदरा भट्ट, लक्ष्मण जागरी, प्रताप जागरी, अकबर जागरी, नवराज भट्टको घर पहिरोको उच्च जोखीममा रहेका छन् । यस्तै धौले खत्री, कमल खत्री, जसे खत्री, कैले खत्री, प्रकाश धामी, धनबहादुर खत्री, ईश्वरदत्त भट्ट र धर्मराज भट्टको घर पहिरोको जोखीममा परेका हुन् ।
गाउँपालिका अध्यक्ष सन्तोष जोशीका अनुसार जोखिममा रहेका परिवारलाई आफन्तको घरमा वा सुरक्षित स्थानमा बस्न आग्रह गरिएको छ । “उनीहरूलाई सुरक्षित स्थानमा बस्न आग्रह गरेका छौँ”, उहाँले भन्नुभयो ।
जमिनमा देखिएको दरारका कारण वर्षा थपिएसँगै जोखिम बढ्न सक्ने भएकाले स्थानीय बासिन्दालाई सतर्क रहन आग्रह गरिएको छ ।
प्रतिक्रिया जनाउनुहाेस्















