दोगडाकेदारमा ५० प्रतिशत अनुदानमा आधुनिक कृषि उपकरण वितरण

Image

बैतडी: बैतडीको दोगडाकेदार गाउँपालिकाले कृषिलाई प्रविधिमैत्री र व्यावसायिक बनाउने उद्देश्यले किसानहरूलाई ५० प्रतिशत अनुदानमा आधुनिक कृषि उपकरण वितरण गरेको छ।

गाउँपालिकाको चालु आर्थिक वर्षको स्वीकृत कार्यक्रमअन्तर्गत किसानहरूलाई आधुनिक कृषि उपकरण वितरण गरिएको गाउँपालिकाका कृषि शाखा प्रमुख सन्तोष भट्टले जानकारी दिनुभयो। उहाँका अनुसार ५ र ७ एचपी क्षमताका २२ थान मिनी टिलर, १२ थान थ्रेसर मेसिन र तीन थान कम्बाइन्ड राइस मिल वितरण गरिएको छ।

कार्यक्रमका लागि गाउँपालिका र लाभग्राही किसानले समान रूपमा रु नौ लाख ५७ हजार पाँच सयका दरले लगानी गरेका छन्। कृषि क्षेत्रलाई आधुनिक र व्यावसायिक बनाउने लक्ष्यका साथ उक्त कार्यक्रम सञ्चालन गरिएको हो।

कृषि शाखा प्रमुख भट्टले आधुनिक कृषि उपकरणको प्रयोगबाट श्रम अभाव न्यूनीकरण हुनुका साथै उत्पादन लागत घट्ने, समयमै खेतीपाती सम्पन्न हुने र किसानको आम्दानी वृद्धि हुने विश्वास व्यक्त गर्नुभयो।

“आर्थिक समृद्धिको मुख्य आधार कृषि भएकाले आधुनिक प्रविधिमा आधारित खेती प्रणाली विस्तार गर्नु आजको आवश्यकता हो,” उहाँले भन्नुभयो, “कृषि यान्त्रिकीकरण कार्यक्रमले खेतीपाती समयमै सम्पन्न गराउने, उत्पादन लागत घटाउने र उत्पादकत्व वृद्धि गर्न महत्वपूर्ण भूमिका खेल्छ।”

गाउँपालिकाले आगामी वर्षहरूमा पनि कृषि यान्त्रिकीकरण तथा उत्पादन वृद्धि लक्षित कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ।

प्रतिक्रिया जनाउनुहाेस्