बैतडीका धेरै गाउँहरुमा अहिले पनि बालबालिकाको सिकाई र पढाईका लागि उपयुक्त वातावरणको अभाव छ। विद्यालय छन्, शिक्षक छन्, भवन र पुस्तक पनि उपलब्ध छन्, तर पढाइलाई प्राथमिकता दिने मानसिकता अझै कमजोर छ। धेरैजसो परिवारका लागि शिक्षा लगानी होइन, अतिरिक्त बोझ जस्तो छ। यसैले ९–१० कक्षासम्म अध्ययन गर्ने विद्यार्थीको संख्या न्यून छ, र धेरैजसो युवा अवसरको खोजीमा भारततर्फ पलायन गर्छन्।
शिक्षा केवल कक्षाकोठामा सिमित छ र भएको पनि प्रभावकारी र गुणस्तरिय देखिदैन। शिक्षा भनेको सामाजिक चेतना, समानताको भावना र व्यक्तिगत क्षमताको विकास पनि हो। बैतडी जस्ता ग्रामीण जिल्लामा जब शिक्षाको पहुँच सीमित रहन्छ, तब सामाजिक न्यायको अवधारणा पनि कमजोर हुन्छ। बालबालिकाले मात्र पढ्न नपाउनुको असर व्यापक हुन्छ, समाजमा जातीय, लैंगिक र आर्थिक असमानता झन् गहिरो हुन्छ।
नेपालको संविधान २०७२ ले शिक्षा प्रत्येक नागरिकको मौलिक अधिकारका रूपमा सुनिश्चित गरेको छ। धारा ३१(१) अनुसार, “प्रत्येक नागरिकलाई आधारभूत शिक्षा प्राप्त गर्ने हक हुनेछ”, र धारा ३१(२) भन्छ, “प्रत्येक नागरिकलाई राज्यबाट आधारभूत तहसम्मको शिक्षा निःशुल्क र माध्यमिक तहसम्मको शिक्षा निःशुल्क पाउने हक हुनेछ” संविधानले स्पष्ट रूपमा हरेक नागरिकलाई शिक्षाको अधिकार दिएको भए पनि, व्यावहारिक रूपमा बैतडीमा यो अधिकार पूर्ण रूपमा प्रयोग हुन सकेको छैन।
स्थानीय सरकारको भूमिका यहाँ अत्यन्त महत्वपूर्ण छ। गाउँपालिका र नगरपालिकाले संविधान अनुसार शिक्षा र सामाजिक न्याय सुनिश्चित गर्नुपर्ने जिम्मेवारी बोकेको भए पनि, धेरै ठाउँमा योजना र बजेट त छन्, कार्यान्वयन कमै छ। उदाहरणका लागि, शिक्षकको नियमित प्रशिक्षण र गुणस्तरीय पुस्तकको आपूर्ति सुनिश्चित गर्नुपर्नेमा प्रायः ढिलाइ हुन्छ। यसले विद्यार्थीको सिकाइ क्षमता र शिक्षाप्रतिको रुचि दुवै घटाउँछ।
सामाजिक चेतना जगाउन स्थानीय समुदायको सक्रिय सहभागिता अनिवार्य छ। गाउँका बुढापाकाहरूले परम्परागत सोचमा अडिग रहँदा, बालबालिकालाई पढाइको महत्व बुझाउन कठिनाइ हुन्छ। त्यस्तै, लैंगिक भेदभाव अझै देखिन्छ। यसरी शिक्षा र सामाजिक न्याय बीचको सम्बन्ध कमजोर हुँदा, बैतडीले आफ्नो मानव स्रोतको पूर्ण उपयोग गर्न सक्दैन।
तथापि, परिवर्तन असम्भव छैन। स्थानीय तहले विद्यालय सुधार, छात्रवृत्ति कार्यक्रम, र अभिभावक जागरण अभियानलाई प्राथमिकता दिन सक्छ र दिनुपर्छ। समुदायले स्वयंसेवा र सहयोग मार्फत विद्यालयको वातावरण सुधार्न सक्छन।
शिक्षा र सामाजिक न्यायको सम्बन्ध गहिरो छ। जबसम्म प्रत्येक बालबालिकाले गुणस्तरीय शिक्षा प्राप्त गर्दैन, तबसम्म समाजमा समानता र न्यायको स्थायी अनुभव सम्भव छैन। बैतडीको वर्तमान चुनौती केवल पूर्वाधारको कमी मात्र होइन; सोच र दृष्टिकोणको परिवर्तन पनि आवश्यक छ। संविधानले दिएको अधिकारलाई व्यवहारमा ल्याएर मात्र यहाँका युवा अवसरको खोजीमा बाहिर नजाने, बरु आफ्नै समाजको विकासमा योगदान दिन सकून्।
समग्रमा, बैतडीको भविष्य शिक्षा र सामाजिक न्यायमा निर्भर छ। स्थानीय सरकार, समुदाय, शिक्षक र अभिभावक सबै मिलेर मात्र बालबालिकाको उज्ज्वल भविष्य सुनिश्चित गर्न सक्छन्। शिक्षा केवल अधिकार मात्र होइन, सामाजिक न्यायको आधार पनि हो, र बैतडीका लागि यही वर्तमान र भविष्यको सबैभन्दा ठुलो चुनौती हो।
रन्जित प्रकाश वड
दशरथचन्द नगरपालिका ४ बैतडी
कानून विद्यार्थी, काठमाडौं स्कूल अफ ल




















