बैतडी: बैतडीको मेलौली भगवति मन्दिरमा निर्माण भइरहेको पुर्वाधारका योजनाहरु अलपत्र अवस्थामा छन् । समयमा बजेट व्यवस्थापन नहुदा पूर्वाधार निर्माणका योजनाहरुको काम अलपत्र रहेको हो ।
आर्थिक वर्ष २०७७।०७८ देखि निर्माण सुरु भएको पूर्वाधार योजनाका अधिकांश कामहरु अलपत्र छन् । निर्माण सुरु भएको ४ वर्ष पुगिसक्दापनि यहाँका योजनाको ५० प्रतिशत पनि काम सम्ँपन्न भएको छैन ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको ५५ प्रतिशत र मेलौली नगरपालिकाको ४५ प्रतिशत बजेटगरी सयुक्त लगानीमा योजना अघि बढ्ने समजदारी भएको थियो । जस अन्तरगत मन्त्रालयले ४ करोड ५५ लाख र नगरपालिकाले २ करोड ४५ लाख बजेट सुनिश्चित गरिएको थियो ।
कूल ७ करोडमा आर्थिक वर्ष २०७७।०७८ सालमा ठेक्का खोलिएकोमा गौरा कन्ट्रक्सनले झण्डै ५० प्रतिशत घटाघटीमा साढे ३ करोडमा ठेक्का सम्झौता गरेको थियो ।
हालसम्म निर्माण कम्पनीले एक करोड बजेट भुक्तानी पाइसकेको छ । काम पनि ५० प्रतिशत पनि नपुगेको मेलौली नगरपालिकाको योजना शाखाले जनाएको छ ।
सम्झौता अनुसार छ वटा गेटहरु, २ वटा पार्कसहितको पोखरी, १३४ रोपनी क्षेत्रमा घेरपर्खाल लगाउने र देवन्वालो देखि मन्दिरसम्म पिसिसिबाटो निर्माण गर्ने योजना थियो । सो अनुसार देवन्वालोदेखि मन्दिरसम्मको पिसिसिबाटो बाहेक अन्य कुनै पनि काम सम्पन्न हुन नसकेको मेलौली धार्मिक सेवा समितिका अध्यक्ष जगदिश सिंह नायकले जानकारी दिए । यस क्षेत्रको महत्वसँग जोडिएको यस मन्दिर व्यवस्थापनका लागि आएको बजेटलाई पालिकाले चाँसो दिनुपर्ने नायकले बताए ।
मेलौली भगवति मन्दिर देशरीमा उत्कृष्ट एक सय पर्यटन गन्तब्यको सूचीमा परेको धार्मिक क्षेत्र हो । यस मन्दिर परिसरमा आवश्यक पुर्वाधार निर्माणको लागि पालिकासँगको सयुक्त साझेदारीमा योजना अघि बढाउन मन्त्रालयले ५५ प्रतिश्त बजेट सुनिश्चित गरेको थियो ।
मेलौली नगरपालिकाका अनुसार मन्त्रालयले सुनिश्चित गरेको बजेट निकासा नगर्दा योजना समयमा सम्पन्न हुन नसकेको जनाएको छ । एक पटक मात्रै करिब ४० लाख बजेट मन्त्रालयले पठाएको र नगरपालिकाबाट बाँकी रकमगरी एक करोडबढी निर्माण कम्पनीलाई भुक्तानी दिइसकेको नगरपालिकाका योजना शाखा प्रमुख भुवन बागले जानकारी दिए । यहाँबाट कार्यसम्पादन भएका योजनाको सबै विवरणहरु पटकपटक पेश गरेको भएपनि मन्त्रालयले बजेट नपठाएपछि योजनामा ढिलाई भएको उनले बताए ।
मेलौलीका नगर प्रमुख भिम बहादुर चन्दले मन्त्रालयले बजेट नपठाएकै हुनाले योजना समयमा सम्पन्न हुन नसकेको दावी गरे । चालु आर्थिक वर्षमा पनि नगरपालिकाबाट ३० लाख बजेट बिनियोजन गरिएको उनले बताए । मन्त्रालयमा पनि हालसम्मको कार्यसम्पादन विवरण पेश गरिने नगर प्रमुख चन्दले बताए ।
हाल निर्माण भइरहेका योजनाहरु सम्पन्न नहुदा मेलौलीको सौन्दर्यता मासिन पुगेको मेलौली धार्मिक सेवा समितिका अध्यक्ष नायकले बताए ।

मेलौली मन्दिर परिसरमा पुर्वाधारको काम अलपत्र, ४ वर्षमा ५० प्रतिशत पनि काम भएन



प्रतिक्रिया जनाउनुहाेस्

















