बैतडी: पाटन नगरपालिकाले सामुदायिक विद्यालयमा सञ्चालन हुँदै आएको दिवा खाजा कार्यक्रमलाई थप प्रभावकारी र पोषणयुक्त बनाउन एकदिने अभिमुखीकरण कार्यक्रम आयोजना गरेको छ।
पाटन नगरपालिकाको शिक्षा शाखाको आयोजनामा भिमदत्त बहुप्राविधिक शिक्षालयको सभाहलमा “स्थानीय उत्पादनमा आधारित पोषणयुक्त दिवा खाजा प्रारूप, २०८१” कार्यान्वयनसम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको हो। कार्यक्रममा पाटन नगरपालिका अन्तर्गतका सामुदायिक विद्यालयका प्रधानाध्यापक तथा विद्यालय व्यवस्थापन समितिका अध्यक्षहरूको सहभागिता रहेको थियो।
कार्यक्रममा पाटन नगरपालिकाका शिक्षा शाखा प्रमुख ललितकुमार पाण्डेयले नेपाल सरकारले अनुदानको आधारमा विद्यालयमा दिवा खाजा कार्यक्रम सञ्चालन गर्दै आएको बताउँदै स्थानीय उत्पादनलाई प्राथमिकता दिन प्रोत्साहन गर्ने उद्देश्यले अभिमुखीकरण आयोजना गरिएको जानकारी दिनुभयो ।
उहाँले स्थानीय उत्पादनमा आधारित पोषणयुक्त दिवा खाजा प्रारूप, २०८१ प्रभावकारी रूपमा कार्यान्वयन गर्न सके विद्यार्थीको पोषणस्तर सुधार हुनुका साथै स्थानीय खाद्य वस्तुको उपयोग बढ्ने र रोजगारी सिर्जनामा समेत टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो ।
वडा न ८ का वडा अध्यक्ष एवं सामाजिक विकास समिती सयोजक हरिश बिष्टले आजको कार्यक्रमबाट पालिकास्तरीय मेनु तयार गरि सबै विधालयमा कार्यान्वयन हुने बताउनुभयो ।
पाटन नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टेकराज अर्यालले दिवा खाजा कार्यक्रममा राज्यको ठूलो लगानी रहेको उल्लेख गर्दै स्थानीयस्तरमा उत्पादन भएका पोषणयुक्त खाद्य वस्तुलाई प्राथमिकता दिनुपर्ने बताउमुभयो ।
कार्यक्रमका सभाध्यक्ष तथा पाटन नगरपालिकाका नगर प्रमुख गौरीसिंह रावलले विद्यालयमा दिवा खाजा व्यवस्थापनमा विभिन्न चुनौती रहेको स्वीकार गर्दै बजेट अभावका कारण अपेक्षित सहजता ल्याउन नसकिएको बताउनुभयो ।






















