बझाङ: बझाङको बित्थडचिर गाउँपालिका–१ मा ‘प्रथम वडाअध्यक्ष कप’ क्रिकेट प्रतियोगिता हुने भएको छ । आगामी बैशाख ३ गतेदेखी १९ वर्षमुनीको वडास्तरीय ‘प्रथम वडाअध्यक्ष कप’ क्रिकेट प्रतियोगिता सञ्चालन हुन लागेको हो ।
बित्थडचिर गाउँपालिका–१ को आयोजनामा स्थानीय स्तरमा रहेका युवा खेलाडीहरुको प्रतिभाको उजार गर्न प्रतियोगिताको आयोजना गरिएको वडाअध्यक्ष मन्नो बोहराले जानकारी दिनुभयो । युवा खेलाडीहरुको खेल कौशल पहिचान गरि प्रादेशिक तथा राष्ट्रिय स्तरमा उत्पादन गर्नु प्रतियोगिताको मुख्य उद्धेश्य रहेको उहाँले जानकारी दिनुभयो ।
प्रतियोगितामा सहभागी हुने टिमले आगामी बैशाख २ गते कार्यालय समयभित्र टिम दर्ता गरिसक्नु पर्ने आयोजकले जनाएको छ ।
प्रतियोगिताको उपाधी विजेताले सर्वाधिक ५५ हजार ५५५ नगद सहित ट्रफि, मेडल र प्रमाणपत्र र उपविजेता २७ हजार ७७७ रुपैँया नगदसहित ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ ।
खेल एलबिडब्लु बाहेक आईसिसीको नियमानुसार र फाइनल बाहेक बाँकी खेल १२÷१२ ओभरको खेलाइनेछ । यस्तै फाइनलमा १५ ओभरमा खेलाइने आयोजकले जनाएको छ ।
प्रतियोगिता माथिल्लो बित्थड खेल मैदानमा सञ्चालन हुने बित्थडचिर गाउँपालिका–१ वडासचिव कमल चन्दले जानकारी दिनुभयो । प्रतियोगितामा १९ वर्षमुनीका जिल्लाभरीका वडास्तरीय टिमले सहभागीता जनाउन सक्ने आयोजकले जनाएको छ ।





















