बैतडीमा झाडापखालाका कारण एक बालिकाको मृत्यु

Image

बैतडी: बैतडीमा झाडापखालाका कारण एक बालिकाको मृत्यु भएको छ । जिल्लाको डिलासैनी गाउँपालिका वडा नं ४ जोखल्लीका सुरेन्द्र बहादुर रोकायाकी १३ वर्षीया छोरी आरतीको झाडापखालाका कारण मृत्यु भएको हो ।
३ दिन पहिले नै झाडापखाला लागेको र आज सोमबार बिहान करिब ५ बजेको समयमा घरमै आरतीको मृत्यु भएको स्थानीय भरत नेगीले जानकारी दिए ।
झाडापखाला लागेपछि स्वास्थ्य चौकीमा नलगेको हुनाले आरतीको मृत्यु भएको नेगीले बताए ।
डिलासैनी –४ स्थित हाडाकोट स्वास्थ्य चौकीका इन्चार्ज बिरेन्द्र बोहराका अनुसार खानपानका कारण फूड पोइजनिङ भएको र लगातार झाडापखाला तथा बान्ताका कारण उनको मृत्यु भएको बुझिएको छ । यस विषयमा जाँचबुझको लागि स्वास्थ्य संस्थाको टोली मृतक आरतीको घरतर्फ गइरहेको छ ।
घरका एक थप सदस्यलाई पनि यस्तै लक्षण देखिएको जानकारी पाएको स्वास्थ्य चौकी इन्चार्ज बोहराले बताए ।
महेश्वरी मावि न्वाघरमा कक्षा ८ मा अध्ययनरत आरतीको निधन भएपछि अहिले जोखल्ली गाउँ शोकमा डुबेको छ ।
मृतकका बुवा सुरेन्द्रबहादुर रोकाया रोजगारीका लागि भारतमा रहेको र छोरीको निधन भएको खबर पाएपछि घर फर्किन लागेका छन् ।

प्रतिक्रिया जनाउनुहाेस्