बैतडी: बैतडीको दोगडाकेदार गाउँपालिकामा नागरिक आरोग्य सेवा केन्द्र स्थापना गरिएको छ । गाउँपालिकाले सर्वसाधारणलाई उपचारात्मक सेवा र स्वस्थ जीवनशैलीका बारेमा जनचेतना अभिवृद्धि गर्ने लक्ष्यका साथ आरोग्य सेवा केन्द्र स्थापना गरेको हो ।
आधारभूत स्वास्थ्य सेवा अन्तर्गत नागरिक आरोग्य सेवा केन्द्रलाई संचालन गर्नुपर्ने सरकारको नितिअनुसार नागरिक आरोग्य सेवा केन्द्र स्थापना गरिएको दोगडाकेदार गाउँपालिकाका स्वास्थ्य संयोजक नरेन्द्र नाथले जानकारी दिए ।आर्युवेदिक उपचार सेवा सहित नागरिकहरूलाई आरोग्य बनाउन विभिन्न कार्यक्रमहरू संचालन गरिने उनले बताए।
“आरोग्य सेवा केन्द्रका लागि एक जना वैद्य नियुक्त गरिएको छ । विद्यालय र टोलस्तरमा योग शिविरसंगै नसर्ने रोग सम्बन्धि सचेतना फैलाउने कार्यक्रमहरू सन्चालन हुन्छन् “ उनले भने।
संघीय सरकारबाट केही अनुदान रहेको र सोहीबमोजिम एकजना वैद्य नियुक्त गरि गाउँपालिकाको केन्द्रबाट नागरिक आरोग्य सेवा केन्द्रका लागि संचालनमा आएको हो । नागरिकहरूलाई केन्द्रबाट आर्युवेदिक औषधि र उपचारात्मक सेवा उपलब्ध गराइने केन्द्रका वैद्य डम्बरदत्त जोशीले जानकारी दिए।





















