बैतडी: बैतडीको सुर्नया गाउपालिकामा लामो समयसम्म तालाबन्दी हुदा स्वास्थ्य क्षेत्र प्रभावित बनेको छ । पालिका अन्तरगतका स्वास्थ्य सस्थाहरुमा औषधि अभाव भएको सम्बन्धित स्वास्थ्य चौकीले जनाएका छन् ।
स्वास्थ्य संस्थामा सिटामोल, बिटाडिन, जीवनजल लगायतका अत्यावश्यक औषधिको अभाव भएको सुर्नया–३ स्थित बाशुलिङ्ग स्वास्थ्य चौकीका इन्चार्ज दल बहादुर बिष्टले जानकारी दिनुभयो । औषधीको अभावमा सामान्य चोटपटक लागेकाहरुलाई उपचार गर्नपनि सकिने अवस्था नरहेको उहाले बताउनुभयो । संस्थामा औषधी नहुँदा सेवाग्राहीलाई रित्तो हात फर्काउनु परेको स्वास्थ्य चौकी इन्चार्ज बिष्टले बताउनुभयो ।
स्वास्थ्य चौकीमा सामान्य सामाग्रीको पनि उपलब्ध नहुदा सुत्केरी सेवा समेत प्रभावित हुने अवस्था आएको बाशुलिङ्ग स्वास्थ्य चौकीका ल्याब असिस्टेन्ट नरेन्द्र सिंह बिष्टले बताउनुभयो ।
गाउँपालिकाका स्वास्थ्य संयोजक राम सिंह महराले गाउँपालिका अन्तरगतका स्वास्थ्य चौकीहरुबाट औषधी लगायतका स्वास्थ्य उपकरणको अभाव हुन थालेको बताउनुभयो ।
गाउँपालिकाले स्वास्थ्य उपकरण सहितका औषधी आपूर्तिको लागि टेन्डर आह्वान गरिएको तर तालाबन्दीका कारण ठेक्का सम्झौता गरी औषधी खरिदको प्रक्रिया अघि बढाउन नसकिएको स्वास्थ्य शाखा प्रमुख महराले बताउनुभयो ।
स्वास्थ्य जस्तो अत्यावश्यक सेवा प्रभावित भइरहेको बताउँदै स्वास्थ्य शाखा प्रमुख महराले यथाशीघ्र सहमति गरी पालिकामा सहज वातावरण सिर्जना गर्न आग्रह गर्नुभयो ।
सूचना उपलब्ध नगराएको भन्दै गत असोज २४ गते जेनजी समूहका युवाहरूले गाउँपालिकाको कार्यालयमा तालाबन्दी गरेका थिए। त्यसयता आजसम्म सो ताला खुल्न सकेको छैन ।
बेलाबेला संवाद र बहस हुदापनी कुनै सहमति हुन सकेको छैन ।

सुर्नयामा तालाबन्दी प्रभाव: स्वास्थ्य सस्थामा औषधि अभाव, सेवा प्रभावित



प्रतिक्रिया जनाउनुहाेस्

















