बैतडीको दशरथचन्द–१ लाई पूर्णखोप सुनिश्चित वडा घोषणा

Image

बैतडी: बैतडीको दशरथचन्द नगरपालिका–१ लाई पूर्णखोप सुनिश्चित वडा घोषणा गरिएको छ । सोमबार एक कार्यक्रमको आयोजना गरेर वडालाई पूर्णखोप सुनिश्चित वडा घोषणा गरिएको गुरुखोला स्वास्थ्यचौकीमा प्रमुख लवदेव भट्टले बताए  ।

वडाभित्र रहेका खोप पाउनुपर्ने ५ बर्षमुनिका बालबालिकाहरुले राष्ट्रिय खोप तालिका अनुसार सबै खोप पाइसकेको एकीन भएपछि वडालाई पूर्णखोप सुनिश्चित वडा घोषणा गरिएको हो ।

नगरपालिकाका ११ ओटै वडालाई पूर्णखोप सुनिश्चित वडा घोषणापछि नगरपालिकालाई पनि पूर्णखोप सुनिश्चित नगरपालिका घोषणा गर्ने तयारी रहेको दशरथचन्द नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख भुवनप्रसाद जोशीले बताए ।

हरेक बालबालिकाहरुले राष्ट्रिय खोप तालिका अनुसार खोप पाएको एकीन गरेपछि हरेक बर्ष वडा र पालिकालाई पूर्णखोप घोषणा गर्ने गरिएको जोशीले बताए। बालबालिकाहरुलाई विभिन्न १३ ओटा रोगविरुद्ध खोप दिने गरिएको छ । ती खोपहरु पाए/नपाएको एकीन गर्न घरधुरी सर्वेक्षण गर्ने गरिएको र त्यसपछि पूर्णखोप सुनिश्चित वडा घोषणा गर्ने गरिएको जोशीले जानकारी दिए ।

दशरथचन्द नगरपालिकाका ११ ओटा वडामध्ये वडा नं १, २, ४, ५, ९, १० र ११ लाई पूर्णखोप सुनिश्चित वडा घोषणा गरिसकिएको उनले जानकारी दिए। बाँकी रहेका वडाहरु पनि चाँडै पूर्णखोप सुनिश्चित वडा घोषणा गरिने जोशीले बताए ।

प्रतिक्रिया जनाउनुहाेस्