बैतडी: महिनावारी स्वच्छता दिवसको अवसरमा बैतडीमा वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ । बुधबार स्वास्थ्य कार्यालय बैतडीको आयोजना तथा पाटन नगरपालिका स्वास्थ्य शाखाको समन्वयमा प्रतियोगिता सम्पन्न भएको हो ।
महिनावारी सम्बन्धीका हानिकारक अभ्यास तथा गलत मान्यताको अन्त्यका “महिनावारी मैत्री समाजका लागि सहकार्य” शिर्षकमा वक्तृत्वकला प्रतियोगिताको आयोजना गरिएको स्वास्थ्य कार्यालय बैतडीका निमित्त प्रमुख हरिशप्रशाद भट्टले जानकारी दिए ।
“महिनावारी भएको समयमा सेनेटरी प्याडको प्रयोग र व्यवस्थापन, पोषणयुक्त खानपान, सरसफाइ अनिवार्य हुन्छ” भट्टले भने, “यस विषयमा सबैलाई जानकारी दिने उद्धेश्यले वक्तृत्वकला प्रतियोगिताको आयोजना गरिएको हो ।”
पाटन नगरपालिका भित्रका ११ ओटा विद्यालयहरुले प्रतियोगितामा सहभागीता जनाएका थिए ।
पाटन नगरस्तरीय वक्तत्वकला प्रतियोगितामा कृष्ण मावि पाटनका कक्षा १० प्राविधिक समूहका छात्र खगेन्द्र पन्त प्रथम, कालीका मावि पाटन १० मटेका छात्र इन्द्र कोली दोस्रो, सिगास मावि पाटन–३ पोखरीका छात्र रोमान्स भट्ट तेस्रो तथा कैलाश मावि पाटन–१ डंसिलीका छात्र धनी भाटले सान्तोना स्थान प्राप्त गरे । उक्त स्थान हासिल गर्ने विद्यार्थीहरुलाई नगद पुरस्कारसहित प्रमाण पत्र समेत वितरण गरिएको स्वास्थ्य कार्यालय बैतडीले जनाएको छ ।
महिनावारी हुनु भनेको एउटा प्राकृतिक प्रक्रिया हो। यसलाई नेपालमा केवल एक सरल जैविक प्रक्रिया नभई जटिल सामाजिक, सांस्कृतिक, पारम्परिक र सामाजिक वर्गीकरणको कारण बनेको छ। महिनावारीसँग जोडिएको सामाजिक लाञ्छनाले गर्दा रजस्वलाको बेला प्रयोग गरिने प्याडलगायत अन्य साधनबारे महिलाले खुलेर बोल्न सकेका छैनन्। यसले गर्दा महिनावारीको साधनमा सर्वसुलभ पहुँचको अभावले पनि रजस्वलाको अनुभव, स्वास्थ्य र महिलाको स्वाभिमानलाई प्रतिकूल प्रभाव परेको बिषय प्रतियोगीहरूले उठाएका थिए ।
कृष्ण मावि पाटनका प्रधानाध्यापक बिरेन्द्र केसीको अध्यक्षतामा सम्पन्न वक्तृत्वकला प्रतियोगिताका प्रमुख अतिथी पाटन नगरपालिका वडा नम्बर ६ का वडा अध्यक्ष राजेन्द्र बिष्ट रहेको थिए ।





















