सुनसरी घटनाको विषयमा बैतडीमा विश्व हिन्दु परिषदद्वारा ज्ञापनपत्र

Image

विश्व हिन्दु परिषद् नेपाल बैतडीले सुनसरीमा भएको घटनाको विषयलाई लिएर जिल्ला प्रशासन कार्यालय बैतडीमा ज्ञापनपत्र बुझाएको छ।

बुधबार बिहान प्रमुख जिल्ला अधिकारी डा. डिजन भट्टराईलाई परिषद्का बैतडी जिल्ला अध्यक्ष भवानीदत्त भट्टको नेतृत्वमा दुई सदस्यीय टोलीले पाँचबुँदे मागसहित ज्ञापनपत्र बुझाएको हो।
।ज्ञापनपत्रमार्फत परिषद्ले सुनसरी घटनाको सत्यतथ्य छानबिन गर्न स्वतन्त्र, निष्पक्ष तथा पारदर्शी उच्चस्तरीय न्यायिक छानबिन समिति गठन गर्न माग गरेको छ।
यस्तै, मन्दिरमा आक्रमण गर्ने तथा भीड नियन्त्रणका क्रममा कम्मरभन्दा माथि गोली चलाउने आदेश दिने र गोली प्रहार गर्ने व्यक्तिहरूको पहिचान गरी सर्वसाधारणको हत्या अभियोगमा कानुनी कारबाही गर्नुपर्ने माग गरिएको छ।

परिषद्ले घटनामा मृत्यु भएका ओमप्रकाश मेहतालाई शहीद घोषणा गरी परिवारलाई उचित क्षतिपूर्ति उपलब्ध गराउन तथा घाइतेहरूको सम्पूर्ण उपचार खर्च राज्यले व्यहोर्नुपर्ने माग पनि गरेको छ।

त्यसैगरी, धार्मिक कार्यक्रमहरूमा पर्याप्त सुरक्षा व्यवस्था सुनिश्चित गर्न, सुरक्षा व्यवस्थापनमा देखिएको कमजोरीप्रति सम्बन्धित अधिकारीलाई जवाफदेही बनाउन तथा आगामी दिनमा यस्ता घटना दोहोरिन नदिन आवश्यक व्यवस्था गर्न सरकारसँग आग्रह गरिएको छ।

ज्ञापनपत्रमा सत्यतथ्य बङ्ग्याएर हिन्दु समाजलाई बदनाम गराउने उद्देश्यले भ्रामक प्रचारप्रसार गर्ने सञ्चारमाध्यम तथा अन्य तत्वमाथि निगरानी र कानुनी कारबाही गर्नुपर्ने मागसमेत उल्लेख गरिएको छ।

विश्व हिन्दु परिषद् बैतडीले सुनसरीको घटनासँगै पाटन नगरपालिका–१ लदौलीमा गोरुमाथि भएको क्रूरतापूर्ण घटनाको निष्पक्ष अनुसन्धान गरी दोषीमाथि कानुनी कारबाही गर्न सम्बन्धित निकायसँग माग गरेको छ।

प्रतिक्रिया जनाउनुहाेस्