बैतडी: बैतडीको पाटन नगरपालिका–९ मा किसानहरूलाई विषादीको सुरक्षित प्रयोग सम्बन्धी प्रशिक्षण दिइएको छ। वडा कार्यालयको आयोजनामा भएको कार्यक्रममा करिब ८० जना किसानको सहभागिता रहेको थियो।
केही दिनअघि कैलालीको अत्तरियास्थित विषादी अवशेष परीक्षण प्रयोगशालामा गरिएको परीक्षणका क्रममा पाटन–९ बाट परीक्षणका लागि पठाइएको रायोको सागमा विषादीको अवशेष भेटिएको गुनासो आएपछि किसानहरूलाई सचेत गराउने उद्देश्यले प्रशिक्षण आयोजना गरिएको पाटन नगरपालिका वडा ९ का वडा अध्यक्ष कालु सिंह भाटले जानकारी दनुभयो ।
प्रशिक्षणमा किसानहरूलाई सकेसम्म जैविक विषादीको प्रयोग गर्न तथा अत्यावश्यक अवस्थामा मात्र निर्धारित मात्रा र विधिअनुसार रासायनिक विषादी प्रयोग गर्न आग्रह गरिएको थियो। रासायनिक विषादीलाई अन्तिम विकल्पका रूपमा मात्रै प्रयोग गर्नुपर्ने विषयमा समेत जानकारी गराइएको पाटन नगरपालिकाका कृषि शाखाका प्राविधिक महेशप्रसाद अवस्थीले जानकारी दिए।
प्रशिक्षणका क्रममा विषादीको सही मात्रा, प्रयोग गर्ने समय, सुरक्षाका उपाय तथा बाली टिप्नुअघि पालना गर्नुपर्ने ’वेटिङ पिरियड’ लगायतका विषयमा किसानलाई जानकारी गराइएको थियो।
नगरपालिकाले सुरक्षित कृषि उत्पादन प्रवद्र्धन गर्दै उपभोक्तालाई स्वस्थ र गुणस्तरीय तरकारी उपलब्ध गराउने उद्देश्यले यस्ता सचेतनामूलक कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ ।












