भारतको बेङ्ग्लोरमा डडेल्धुराका एक युवकमाथि कुटपिट भएको छ। जिल्लाको नवदुर्गा गाउँपालिका–५ का २६ वर्षीय टेकेन्द्र धामीलाई मङ्गलबार बेङ्ग्लोरको बौनल्ली क्षेत्रमा कुटपिट गरिएको हो।
आफन्तका अनुसार टेकेन्द्रलाई काका नाता पर्ने रमेश धामीले कुटपिट गरेका हुन्। घटनापछि त्यहाँ रहेका नेपालीहरूले उनको उद्धार गरी स्थानीय प्रहरीको जिम्मा लगाएका थिए भने प्रहरीले उपचारका लागि अस्पताल पुर्याएको बुझिएको छ।
टेकेन्द्रकी श्रीमती द्रोपती धामीका अनुसार घटनाको जानकारी पाएलगत्तै उनले भारतमा रहेका आफन्तमार्फत श्रीमानको अवस्था बुझ्ने प्रयास गरेकी थिइन्। तर हालसम्म उनको अवस्थाबारे कुनै आधिकारिक जानकारी प्राप्त हुन नसकेको र सम्पर्कसमेत हुन नसकेको उनले बताइन्।
द्रोपतीका अनुसार टेकेन्द्र विगत दुई महिनादेखि परिवारको सम्पर्कमा थिएनन्। उनी स्वयं विगत पाँच वर्षदेखि माइतीघर बैतडीको पाटन नगरपालिका–८ आरुबाटामा बस्दै आएकी छन्।
श्रीमानको अवस्था अज्ञात भएपछि द्रोपतीले सबै नेपाली समुदाय, भारतमा रहेका आफन्त तथा सरोकारवालासँग टेकेन्द्रको खोजी, अवस्थाबारे जानकारी संकलन तथा आवश्यक सहयोग गरिदिन भावुक अपिल गरेकी छन्। कसैसँग टेकेन्द्र धामीको अवस्थाबारे जानकारी भएमा परिवारलाई खबर गरिदिन उनले अनुरोध गरेकी छन्।
टेकेन्द्रका एक छोरा र तीन छोरी रहेका छन्।













