बैतडी– पूर्व सशस्त्र प्रहरी बलका एसएसपी तथा समाजसेवी मदनसिंह विष्ट ले बैतडीको पाटन नगरपालिका–४ स्थित दुई सामुदायिक विद्यालयका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरेका छन्।
विष्टले भगवती आधारभूत विद्यालय र दलित मसानी आधारभूत विद्यालयका विद्यार्थीलाई झोला, कापी, कलमलगायत आवश्यक शैक्षिक सामग्री हस्तान्तरण गर्दै शिक्षा क्षेत्रमा आफ्नो सहयोग अभियानलाई निरन्तरता दिएका हुन्।

यसअघि पनि उनले पाटन नगरपालिका–४ कै भूमेश्वर माध्यमिक विद्यालय मा आफ्नी स्वर्गीय आमा गुन्नादेवी विष्टको स्मृतिमा २ लाख रुपैयाँको अक्षयकोष स्थापना गरेका थिए। सो अवसरमा २० जना विद्यार्थीलाई शैक्षिक सामग्रीसमेत वितरण गरिएको थियो।
विष्टले आफ्नी आमाको स्मृतिमा स्थापना गरिएको अक्षयकोषमार्फत शिक्षा, सामाजिक सेवा र विद्यार्थी प्रोत्साहनका कार्यक्रम नियमित रूपमा सञ्चालन गर्दै आएका छन्। सेवानिवृत्तिपछि समाजलाई केही फर्काउने उद्देश्यका साथ निस्वार्थ भावनाले सामाजिक क्षेत्रमा सक्रिय रहेको उनले बताए।

राजनीतिक रूपमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)सँग आबद्ध भए पनि आफ्नो सामाजिक अभियान कुनै राजनीतिक स्वार्थका लागि नभई शिक्षा र समाज विकासमा योगदान पुर्याउने उद्देश्यले सञ्चालन गरिएको विष्टको भनाइ छ।
आगामी दिनमा पनि पाटन नगरपालिका–४ का अन्य विद्यालयमा समेत यस्ता सहयोगका कार्यक्रम विस्तार गर्ने योजना रहेको उनले जानकारी दिए।

आफ्नो पुर्ख्यौली थलोमै शिक्षा र सामाजिक क्षेत्रमा निरन्तर सहयोग गर्दै आएको भन्दै स्थानीय अभिभावक, शिक्षक तथा सर्वसाधारणले विष्टको अभियानको प्रशंसा गरेका छन्। स्थानीयवासीका अनुसार निजी स्रोतबाट सञ्चालन गरिएको यस्तो अभियानले विपन्न तथा सामुदायिक विद्यालयका विद्यार्थीलाई प्रत्यक्ष रूपमा हौसला मिलेको छ।













