बैतडी: बैतडीको पाटनमा रहेको नयाँ सहर विकास आयोजनाको कार्यालय अब सघन सहरी तथा भवन निर्माण आयोजनामा एकीकृत भएको छ।
सरकारले २०६८ सालमा नयाँ सहर विकास आयोजना अघि बढाउने उद्देश्यले पाटनमा कार्यालय स्थापना गरेको थियो। अब उक्त कार्यालय सघन सहरी तथा भवन निर्माण आयोजनामा गाभिएको छ।
यो कार्यालय सुदूर पश्चिमका बैतडी, दार्चुला र बझाङ जिल्लाको योजना तथा आयोजना सम्हाल्नेछ। साथै, नयाँ सहर विकाससँग सम्बन्धित कामहरू पनि अब यही कार्यालयबाटै अघि बढाइने कार्यालयका इन्जिनियर प्रकाश कुमार शाहले जानकारी दिनुभयो।
सघन सहरी तथा भवन निर्माण आयोजनाको पाटन कार्यालय प्रमुखको रूपमा झंक बहादुर थापा नियुक्त भएका छन्। इन्जिनियर शाहले भन्नुभयो, “नयाँ सहरको कार्यालय अब सघन सहरी आयोजनामा समाहित भएको छ, र नयाँ सहरसँग सम्बन्धित सबै काम यही कार्यालयबाट समन्वय गरिनेछ।”
नयाँ सहरसँग सम्बन्धित महत्त्वपूर्ण कामहरू हाल अलपत्र अवस्थामा रहेका छन्। मुख्य रूपमा जग्गा एकीकरणको काम अझै सुरु हुन सकेको छैन भने निर्माण गरिएका अधिकांश संरचनाहरू प्रयोगमा आएका छैनन्।

पाटनको नयाँ सहर कार्यालय सघन सहरी आयोजनामा गाभियो



प्रतिक्रिया जनाउनुहाेस्

















