बैतडी: बैतडीको मेलौलीमा इलाका प्रशासन कार्यालय स्थापना भएसँगै स्थानीयलाई प्रशासनिक सेवा लिन सहज भएको छ। मेलौली नगरपालिका सहित शिवनाथ र पञ्चेश्वर गाउँपालिकाका स्थानीयलाई प्रशासनिक सेवा लिन सहज भएको हो ।
नयाँ नागरिकता, नागरिकताको प्रतिलिपि र राष्ट्रिय परिचयपत्र बनाउन जिल्ला सदरमुकाम धाउनुपर्ने बाध्यता थियो । गत वैशाख २४ गते इलाका प्रशासन कार्यालय स्थापना भएसँगै नयाँ नागरिकता लगायतका अन्य प्रशासनिक सेवा लिन सहज भएको मेलौली नगरपालिका–८ का स्थानीय शम्भुसिंह बिष्टले बताउनुभयो ।
“नागरिकता लगायतका अन्य प्रशासनिक कामका लागि जिल्ला सदरमुकाम ध्याउनपुर्ने वाध्यता थियो । एकदिन भन्दाबढी लाग्थ्यो,” पञ्चेश्वर गाउँपालिका—१ स्थानीय सुरेशराम सार्कीले भन्नुभयो, “ कार्यालय स्थापनापछि नागरिकको समय र खर्च बचत हुनुका साथै आवतजावतको झन्झटसमेत हटेको छ ।”
नयाँ नागरिकता, नागरिकताको प्रतिलिपि र राष्ट्रिय परिचयपत्र नाबालक परिचयपत्र वितरण लगायतका सेवा कार्यालयले प्रदान गर्दै आएको छ । इलाका प्रशासन कार्यालय मेलौलीका प्रमुख महेश भट्टका अनुसार कार्यालयबाट हालसम्म एक हजार ७७ जनाले नयाँ नागरिकता र ३३८ जनाले नागरिकताको प्रतिलिपि लिएका छन्।
यस्तै राष्ट्रिय परिचयपत्रका लागि एक हजार ३२५ जनाको वितरण संकलन गरिएको प्रमुख भट्टले जानकारी दिनुभयो । ९२ वटा राष्ट्रिय परिचयपत्र वितरण गरिएको कार्यालयले जनाएको छ ।
इलाका प्रशासन कार्यालयबाट नियमित सेवा प्रवाह हुन थालेपछि दुर्गम क्षेत्रका नागरिकहरुलाई सहज भएको छ । “दैनिक सेवाग्राहीको चाप बढी नै हुने गरेको छ,” भट्टले भन्नुभयो,“जनशक्ति अभावका बिचपनि कार्यालयले नियमित सेवा प्रवाह गरिरहेको छ ।”
कार्यालयले बजार अनुगमन लगायतका कामहरु गरिएरहेको प्रमुख भट्टले जानकारी दिनुभयो ।













