बैतडी: बैतडीमा ७ घर पहिरोको उच्च जोखीममा परेका छन् । यहाँको सुर्नया गाउँपालिका–८ रातापानी टोलका ७ घर पहिरोको उच्च जोखीममा रहेका हुन् ।
मंगलबारमा साँझ ७ बजेतिर सुख्खा पहिरो खसेपछि झन जोखीम बढेको स्थानीय रामसिंह बोहराले जानकारी दिनुभयो । उहाँले मंगलबार खसेको सुख्खा पहिरोले झन्डै ३० रोपनी खेतीयोग्य जमिनमा समेत क्षति पुु¥याएको छ ।
“सुख्खा पहिरो निरन्तर गैरहेको छ । हिजो साँझको पहिरोले विद्युत र खानेपानी सेवा पनि अवरुद्ध बनेको छ”,उहाँले भन्नुभयो,“पहिरोले विस्थापित हुने अवस्थामा पुगेका छाँै।”
सो क्षेत्रमा २०७७ सालदेखी पहिरो खस्ने गरेको छ । पहिरोले त्रासले यसअघि नै एक परिवार विस्तापित भएको छ । मिना बोहरा, चक्र, गम्भिर, रामसिंह, धनुवा, उदय र कृष्ण बोहराको घर पहिरोको उच्च जोखीममा रहेका छन् ।
जमिन चर्किएकाले पहिरो खस्ने जोखीम कायमै रहेको छ । सुर्नया गाउँपालिका–८ का वडाअध्यक्ष भानबहादुर बोहराका अनुसार उनीहरु विस्तापित हुने अवस्थामा रहेका छन् । हरेक वर्ष बर्षात्को समयमा पहिरो खस्ने गरेकाले दिर्घकालिन रुपमा बस्ती नै स्थानान्तरण गर्नुपर्ने अवस्था आएको वडाअध्यक्ष बोहराले बताउनुभयो ।
“हरेक वर्ष वर्षात्को समयमा पहिरो खस्ने गरेको छ। अहिले पनि बस्ती जोखिममा छ। स्थानीयलाई सुरक्षीत स्थानमा सार्नुपर्ने अवस्था देखिएको छ,” वडाध्यक्ष बोहराले भन्नुभयो ।
पहिरोको जोखिम बढ्दै गएपछि प्रभावित परिवारको सुरक्षा तथा बस्ती व्यवस्थापनका लागि सम्बन्धित निकायले आवश्यक कदम चाल्नुपर्ने स्थानीयको माग छ ।














