बैतडीमा जंगली जनावरले मकैबाली सखाप पार्न थालेपछि किसान चिन्तित

Image

बैतडी: बैतडीमा जंगली जनावरले मकैबाली सखाप पार्न थालेपछि किसान चिन्तित बनेका छन्। यहाँका विभिन्न क्षेत्रमा बाँदर, बँदेल र दुम्सीले मकैबालीमा क्षति पु¥याउन थालेपछि किसान समस्यामा परेका हुन्।

दिउँसोको समयमा बाँदरले र रातीको समयमा दुम्सीले मकैबालीमा क्षति पु¥याउने गरेको सिगास गाउँपालिका–३ का स्थानीय पदमराज अवस्थीले बताउनुभयो। जंगली जनावरबाट मकैबाली जोगाउन किसानले रातदिन निगरानी गर्नुपर्ने अवस्था आएको उहाँले बताउनुभयो।

“रात दिन खेतमै जाग्राम बस्दा पनि जंगली जनावरबाट बाली जोगाउन सकिरहेका छैनौँ,” अवस्थीले भन्नुभयो, “बाँदर, बँदेल र दुम्सीले मकैबालीमा क्षति पु¥याउन थालेपछि उत्पादनमा समेत असर पर्ने चिन्ता बढेको छ।”

खेतबारीमा टहरा बनाएर पहरा दिँदा समेत मकैबाली जोगाउन नसकेको स्थानीय किसानहरू बताउँछन्। मकैबालीमा जंगली बँदेलले क्षति पु¥याउन थालेपछि उत्पादनमा समेत असर पर्ने भन्दै पुर्चौडी नगरपालिका–७ का किसान जनक ऐरले चिन्ता व्यक्त गर्नुभयो ।

मेहनत गरेर लगाएको बाली जोगाउन रातभर खेतमै जाग्राम बस्नुपर्ने बाध्यता रहेको सिगास—९ का अर्का किसान जनक बोहराले बताउनुभयो ।
कृषि बीमामा किसानको आकर्षण न्यून

किसानहरूलाई राहत दिन कृषि बीमा महत्वपूर्ण भए पनि बैतडीमा बाली बीमाप्रति किसानको आकर्षण न्यून देखिएको छ। कृषि ज्ञान केन्द्र बैतडीका प्रमुख हरिदत्त जोशीका अनुसार बाली बीमा निःशुल्क गर्ने व्यवस्था भए पनि त्यसतर्फ किसानको आकर्षण बढ्न सकेको छैन।

गत आर्थिक वर्षमा बैतडीमा एउटा पनि बीमा नभएको कृषि ज्ञान केन्द्रले जनाएको छ। पशुपन्छीतर्फ छ सयको बीमा गरिएको छ । कृषि बीमा गरे विभिन्न कारणले हुने बाली क्षतिबाट किसानलाई राहत पुग्ने जोशीले बताउनुभयो ।

बैतडीमा झण्डै १२ हजार हेक्टर जमीनमा मकै खेती गरिँदै आएको छ । जंगली जनावर, हावाहुरी, विभिन्न रोग र किराको संक्रमणले मकै बालीमा क्षति पुर्याउन थालेपछि हरेक बर्ष उत्पादन घट्दै गएको छ ।

प्रतिक्रिया जनाउनुहाेस्