बैतडी: बैतडीमा पछिल्ला वर्षहरूमा सवारी दुर्घटनाका घटना बढ्दै गएका छन्। साँघुरा तथा जोखिमयुक्त सडक, तीव्र गति, चालकको लापरबाही र वर्षायाममा सडकको अवस्था बिग्रिनुले दुर्घटनाको जोखिम झन् बढाएको हो ।
यहाँ तीन वर्षको अवधिमा जिल्लामा ३५ वटा सवारी दुर्घटनामा परेका जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता, प्रहरी निरीक्षक भुवनप्रसाद तिमिल्सेनाले जानकारी दिनुभयो । ती दुर्घटनामा परी ४७ जनाले ज्यान गुमाएका छन् भने १५० जना घाइते भएका उहाँले बताउनुभयो ।
चालू आर्थिक वर्षको हाल सम्म मात्रै १७ वटा सवारी दुर्घटना हुँदा २९ जनाको मृत्यु भएको छ भने ८३जना घाइते भएका छन् । दुर्घटनाको संख्या अघिल्ला वर्षहरूको तुलनामा बढ्दो क्रममा रहेको प्रहरी निरीक्षक तिमिल्सेनाले बताउनुभयो ।
शुक्रबार मात्रै पाटन नगरपालिका–८ गैराखानामा बस दुर्घटना हुँदा २४ जना घाइते भएका थिए ।
दुर्घटनाका दृष्टिले बैतडीको खोडपे क्षेत्र सबैभन्दा जोखिमयुक्त मानिन्छ। पछिल्ला तीन वर्षमा उक्त क्षेत्रमा मात्रै दर्जनभन्दा बढी सवारी दुर्घटना भएका छन्। घुमाउरा मोड, साँघुरो सडक, उकालो–ओरालो तथा वर्षायाममा सडक चिप्लो हुने भएकाले यस क्षेत्रमा दुर्घटनाको जोखिम उच्च रहेको प्रहरीको भनाइ छ।














