बैतडी पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा

Image

बैतडी: बैतडीलाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा गरिएको छ । जिल्ला खोप समन्वय समितिले “स्थानीय स्रोतको उपयोग स्वामित्व र सहभागिता, पूर्ण खोप–सुनिश्चितता हाम्रो प्रतिबद्धता“ भन्ने नाराका साथ शनिबार जिल्लालाई सो घोषणा गरेको हो ।

राष्ट्रिय खोप कार्यक्रमअन्तर्गत जिल्लाका १० ओटै स्थानीय तहमा तोकिएको उमेर समूहका बालबालिकाले सबै खोप प्राप्त गरेको सुनिश्चित भएपछि बैतडीलाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा गरिएको स्वास्थ्य कार्यालय बैतडीका प्रमुख तीर्थराज भट्टले जानकारी दिनुभयो ।

जिल्लाभरीका जन्मेदेखि १५ महिनासम्मका ३ हजार ९ सय ३१ जना र १६ महिनादेखि ५९ महिनासम्मका ११ हजार ७ सय ९४ जना बालबालिकाहरुले राष्ट्रिय खोप तालिका अनुसार खोप पाएको एकीन भएपछि जिल्लालाई पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा गरिएको कार्यालयका खोप सुपरभाइजर निरीक्षक हरिशप्रसाद भट्टले बताउनुभयो ।
बैतडीलाई वि.स. २०७२ असार ६ गते पूर्ण खोपयुक्त जिल्ला घोषणा गरिएको थियो । त्यसयता प्रत्येक वर्ष पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा गर्ने गरिएको छ ।

यस्तै पूर्ण खोप सुनिश्चित जिल्ला घोषणाका लागि महत्वपूर्ण सहयोग पुर्याएका १० जना स्वास्थ्यकर्मीहरुलाई सम्मान गरिएको छ । प्रत्येक स्थानीय तहबाट एक÷एक जना गरेर दश जनालाई प्रमाणपत्रसहित दोसल्ला ओढाएर सम्मान गरिएको उहाँल बताउनुभयो।

सम्मानित हुनेमा दोगडाकेदार गाउँपालिकाको श्रीकोट स्वास्थ्यचौकीका अहेव सन्तोष राय यादव, शिवनाथ गाउँपालिकाको शिवनाथ स्वास्थ्यचौकीकी अनमी राधिका धनाडी, पुर्चौंडी नगरपालिकाको हाट स्वास्थ्यचौकीकी सिनियर अहेव रतनाकुमारी भण्डारी, दशरथचन्द नगरपालिकाको त्रिपुरासुन्दरी स्वास्थ्यचौकीकी सिनियर अहेव भागरथी कुमारी टेर र सुर्नया गाउँपालिकाको वासुदेव आधारभूत स्वास्थ्य केन्द्रकी सिनयर अनमी महेश्वरी पाण्डेय रहेका छन् ।

यस्तै सिगास गाउँपालिकाको चौखाम स्वास्थ्यचौकीका अहेव निलेशकुमार यादव, पाटन नगरपालिकाको वसन्तपुर स्वास्थ्यचौकीकी सिनियर अनमी गोमती चन्द, पञ्चेश्वर गाउँपालिकाको रोडीदेवल स्वास्थ्यचौकीकी सिनियर अनमी हिरादेवी भण्डारी र डिलाशैनी गाउँपालिकाको गोकुलेश्वर स्वास्थ्यचौकीकी सिनियर अहेव निर्मला नाथ पनि सम्मानित भएका छन् ।

प्रतिक्रिया जनाउनुहाेस्