बैतडी: बैतडीमा माध्यमिक शिक्षा परीक्षा (एसइई) मा चार हजार पाँच सयबढी विद्यार्थी सहभागी हुने भएका छन् । यहाँका १४२ ओटा विद्यालयमा अध्ययनरत नियमीत र ग्रेडवृद्धि गरि चार हजार ५५१ विद्यार्थी एसइईको परीक्षामा सहभागी हुने भएका हुन् ।
नियमीत तर्फ तीन हजार ९२१ र ग्रेडवृद्धितर्फ ६३० विद्यार्थीहरु परीक्षामा सहभागी हुने शिक्षा विकास तथा समन्वय इकाई बैतडीका सूचना अधिकारी पुष्कर राज शर्माले जानकारी दिनुभयो । उहाँका अनुसार नियमीत तर्फ एक हजार ९६३ छात्र र एक हजार ९५८ छात्रा तथा ग्रेडवृद्धि तर्फ ३७४ छात्रा र २५६ छात्र परीक्षामा सहभागी हुनेछन् ।
शिक्षा विकास तथा समन्वय इकाई बैतडीका अनुसार १३८ सामुदायिक र ४ संस्थागत गरी १४२ विद्यालयहरु रहेका छन् । यहि चैत १९ गतेदेखी २९ गतेसम्म सञ्चालन हुने परीक्षाका लागि यहाँ २६ ओटा परीक्षा केन्द्र निर्धारण गरिएको सूचना अधिकारी शर्माले बताउनुभयो ।
सातओटा प्राविधिक विद्यालयका विद्यार्थीका लागि पाटनस्थित भीमदत्त बहुप्राविधिक शिक्षालयमा परीक्षा केन्द्र तोकिएको छ। यहाँ परीक्षाका लागि आन्तरीक तयारी तिव्र पारीएको शर्माले जानकारी दिनुभयो ।




















