बैतडी: बैतडीमा २ सय १५ ओटै मतदान केन्द्रका मतपेटिका मतगणनास्थलमा पुर्याइएको छ । मतदान सकिएलगत्तै मतपेटिका ढुवानीको काम शुरु भएको र टाढाका मतपेटिका आज बिहान मतगणनास्थलमा ल्याइ पुर्याइएको मुख्य निर्वाचन अधिकृत तीर्थराज भट्टले बताउनुभयो ।
जिल्लाभरीका मतपेटिका संकलन गरेर मतगणनास्थलमा भण्डारण गरिएको र बिहान ११ बजेतिर सर्वदलीय बैठक बस्ने मुख्य निर्वाचन अधिकृत भट्टले जानकारी दिनुभयो ।
सर्वदलीय बैठकको निर्णय अनुसार मतगणना कार्य अगाडि बढाइनेछ । आज दिउँसोदेखि मतगणना शुरु हुने बताइएको छ । बैतडीमा ४६ दशमलव ७८ प्रतिशत मतदान भएको छ । जिल्लामा कुल मतदान गर्नेमा पुरुषको भन्दा ७ हजार ९९७ बढी महिलाले मतदान गरेका छन् ।
जिल्लाको कुल १ लाख ५६ हजार ३७२ मतदातामध्ये ७३ हजार १४८ जनाले मतदान गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । जसमध्ये ४० हजार ५७२ महिला, ३२ हजार ५७५ पुरुष र एक जना अन्यले मतदान गरेका छन् ।
जिल्लाको कुल १ लाख ५६ हजार ३७२ मतदातामध्ये ७८ हजार ९८७ पुरुष ७७ हजार ३८३ महिला र दुई जना अन्य मतदाता रहेको जिल्ला निर्वाचन कार्यालय बैतडीको तथ्यांक छ ।
जिल्लाभरी शान्तिपूर्ण रुपमा मतदान सम्पन्न भएको प्रमुख जिल्ला अधिकारी कृष्ण थापाले बताउनुभयो ।



















