बैतडी: बिहीबार हुने प्रतिनिधि सभा सदस्य निर्वाचनलाई लक्षित गर्दै बैतडीस्थित झुलाघाट नाका तीन दिनका लागि बन्द गरिएको छ ।
भारतसँग जोडिएको बैतडीको झुलाघाट नाकासहित महाकाली नदीमा सञ्चालित घाटहरु ७२ घण्टाका लागि बन्द गरिएको बैतडीका प्रमुख जिल्ला अधिकारी कृष्ण थापाले जानकारी दिनुभयो । निर्वाचन सुरक्षालाई मध्यनजर गर्दै सोमबार राती १२ बजेदेखी लागू हुने गरि फागुन २१ गते राती १२ बजे सम्मका लागि भारतसंग जोडीएका सिमानाका बन्द गरिएको उहाँले बताउनुभयो ।
निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्नका लागि सीमा क्षेत्रमा उच्च सुरक्षा सतर्कता अपनाइएको छ । सीमा क्षेत्रमा चुनावको समयमा हुन सक्ने अवाञ्च्छित गतिविधि रोक्नका लागि सुरक्षा निकाय चनाखो रहेको प्रमुख जिल्ला अधिकारी थापाले बताउनुभयो ।
“सुरक्षाका दृष्टिकोणले अति संवेदनशिल क्षेत्रहरुमा आवश्यक विशेष निगरानी बढाएका छौ।”,उहाँले भन्नुभयो, “सुरक्षाकर्मी थप परिचालन गर्नुपर्ने अवस्था आएको खण्डमा तयारी अवस्थामा राखिएको छ ।”
बैतडीमा ३१ किलोमिटर सीमा क्षेत्र भारतसँग जोडिएको छ । झुलाघाट नाकामा झोलुङ्गे पुलमार्फत आवतजावत गरिन्छ भने तल्लासोराड क्षेत्रका घाटहरुमा डुङ्गमार्फत आवतजावत गरिन्छ ।
निर्वाचनलाई स्वतन्त्र र भयरहित बनाउन भारतसँग जोडिएको सीमामा सुरक्षा सतर्कता बढाइएको छ भने सशस्त्र प्रहरीका बीओपीमार्फत निगरानी कडा पारिएको छ ।



















