बैतडी: बैतडीको पुर्चौडी नगरपालिका–७ लाई पूर्णखोप वडा सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको छ । सोमबार एक कार्यक्रमको आयोजना गरेर वडालाई पूर्णखोप वडा सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको हो ।
वडाभित्र रहेका ५ वर्षमुनिका बालबालिकाहरुले राष्ट्रिय खोप तालिका अनुसारका सबै खोप पाइसकेकाले वडालाई पूर्णखोप वडा सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको कोटिला स्वास्थ्य चौकीका इन्चार्ज सुमन लुहारले जानकारी दिए । वडाभित्र पाँच वर्षमुनिका १८१ बालबालिका रहेका थिए । उनीहरु सबैले राष्ट्रिय खोप तालिका अनुसारका सबै खोप पाइसकेको एकिन भएपछि वडालाई पूर्णखोप वडा सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको उनले बताए ।
वडाभित्र बालबालिकाहरुले पहिलो र अन्तिम खोप सबै खोप लगाएकाले कोटिला स्वास्थ्य चौकी पुर्चाैडी नगरपालिकाभित्रै खोपको पहिलो क्याटागोरिमा रहेको स्वास्थ्यचौकी इन्चार्ज लुहारले जानकारी दिए ।
बालबालिकाहरुलाई विभिन्न १३ ओटा रोगविरुद्ध खोप दिने गरिएको छ । १० ओटै वडालाई पूर्णखोप सुनिश्चित वडा घोषणा गरिएकाले छिट्टै नगरपालिकालाई पनि पूर्णखोप सुनिश्चित नगरपालिका घोषणा गर्ने तयारी भैरहेको नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख विनोद कुवँर बताए ।





















